काठमाडौं- प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत आइतबार ३२ जिल्लामा भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको मिडिया सेन्टरले जनाएको छ। यो आँकडा अझ बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।
आयोगले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको उल्लेख गरेको छ।
चार हजार चार सय ६५ मतदान केन्द्रमा मतदान भएकोमा केही स्थानमा छिटफुट घटना हुनु बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।
रुकुमका दुई वटा मतदान केन्द्रको मतदान स्थगित भएको र ती स्थानमा पुनः मतदान हुने पनि आयोगले जनाएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको वडा नम्बर ५ को रत्न मा.वि. 'क' मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना ‘ख’ केन्द्रमा पुन मतदान हुने आयोगले जनाएको हो।
पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।