रुकुम- रुकुमका दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ।
आइतबार भएको मतदानका क्रममा रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ।
रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो।
दुवै मतदान केन्द्रमा आगामी मंसिर २१ गते पुन: मतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।
राईका अनुसार, रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुनेछ।
दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।