काठमाडौं–निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधसभाको पहिलो चरणको निर्वाचन सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको बताएको छ।
आयोगले आइतबार निर्वाचन भएका ३२ जिल्लामध्ये सदरमुकामबाट नजिकका र सुगम मतदान स्थलका मतपेटिका छिटो ल्याउन सम्भव भए पनि टाढाको मतपेटिका जम्मा गर्न भने केही समय लाग्ने जनाएको छ।
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन भएका जिल्लाहरुबाट सबै मतपेटिका आइतबारै जम्मा गर्न भौगोलिक अवस्थाका कारण कठिन रहेको बताए।
आयोगले दोस्रो चरणको निर्वाचन नहुँदासम्म पहिलो चरणमा मतदान भएका स्थानको मतपेटिकाको सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाइसकेको बताएको छ।
‘मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छ’, प्रवक्ता ढकालले भने, ‘राजनीतिक दलहरुको सहमति, समन्वय र सहकार्यमा सुरक्षित ठाउँमा राखिन्छ।’
मतपेटिकाको सुरक्षाको लागि मुख्य निर्वाचन अधिकृतको निर्देशनमा सुरक्षा निकायले आवश्यक व्यवस्था मिलाउने ढकालले बताए।
‘हेलिकोप्टरबाट मतपेटिका ल्याउनुपर्ने अवस्था भएका ठाउँबाट हेलिकप्टर र अन्य ठाउँमा पनि आवश्यक व्यवस्था मिलाउने काम हुन्छ’, ढकालले भने।
दुवै चरणको निर्वाचनको मत परिणाम २१ गतेपछि मात्रै गणना गर्न सुरु गरिने आयोगले यसअघि नै जानकारी गराइसकेको छ।
‘निर्वाचनको आधारभूत सिद्धान्त नै त्यही हो कि, कुनै एक स्थानको मत परिणामले अर्को स्थानको मतलाई प्रभाव नपारोस्’, २१ गते एकैपटक मत गणना गर्नुको कारण दिँदै ढकालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।