काठमाडौं– प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत ३२ जिल्लामा जारी मतदानमा दिउँसो ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
अधिकांश ठाउँमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान जारी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए। केही मतदान केन्द्रमा सामान्य घटना भए पनि मतदानलाई प्रभावित नपारेको उनले बताए।
साँझ ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउनेछन्।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान जारी छ।
पहिलो चरणमा आज प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी छ।
पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।