मुम्बई (एजेन्सी)– अन्डरवर्ल्ड डन दाउद इब्राहिम डिप्रेसनको सिकार भएको भारतीय अखबारहरूले बताएका छन्। मुम्बई बमकाण्डका मुख्य आरोपित समेत रहेका दाउदलाई डिप्रेसन हुने कारण अरु केही नभएर आफ्नै छोरा भएको बताइएको छ।
एकमात्र छोरा मोइनले पिताको कारोबारमा रुचि नदेखाएको र उनले मौलाना (धार्मिक गुरु) बन्ने निर्णय गरेपछि दाउद डिप्रेसनमा गएको परिवारिक स्रोतलाई उल्लेख गर्दै मुम्बई पुलिसले जनाएको हो।
मुम्बई पुलिसले सेप्टेम्बरमा दाउदका भाइ इकबाल कास्करलाई धम्क्याएर पैसा असुलेको आरोपमा सोधपुछका लागि पक्राउ गरेको थियो। त्यसै क्रममा इकबालले पुलिसलाई दाउदको परिवारमा बढ्दै गएको द्वन्द्वबारे जानकारी दिएका हुन्।
इकबालले आफ्नो दाजु छोराको निर्णयले तनावमा रहेको मुम्बई प्रहरीलाई बताएका थिए। दाउदले पछिल्लो समय आफ्नो विश्वासपात्र मानिएका व्यक्तिहरूसँग पनि दूरी बनाउन थालेको उनले बताएका थिए।
दाउदले अर्का भाइ बिरामी भएको अवस्थामा छोराले आफ्नो कारोबार चलाओस् भन्ने चाहना राखेको इकबालले बताए।
मोइनले बुवाको अवैध व्यापारबाट आफूलाई टाढा राख्न मौलाना बन्न खोजेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।