गोरखा- नयाँ शक्ति पार्टी नेपालका ५ कार्यकर्तालाई प्रहरीले १ लाख नगदसहित नियन्त्रणमा लिएको छ। उनीहरुलाई जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
चुनावी प्रचारमा प्रयोग गरिएको गाडीभित्र चुनावी प्रचार सामग्री र ब्यागमा नगद १ लाख भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। आइतबारको चुनावलाई प्रभाव पार्न गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पैसा बाँडेको स्थानीय युवा भगत दवाडीले आरोप लगाए।
'एक झोला पैसा बोकेर लगेका रहेछन्', स्थानीय युवा अर्जुन ढकालले भने, 'बाँडेर फर्कंदै गर्दा एक लाख मात्रै पक्रन सफल भयौं।'
गए राति १ बजे गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिका -८ गोपालडाँडामा युवाहरुले गाडी, नगद र ५ कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन्।
अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको महिन्द्रा बोलेरो गाडीमा नगद भेटिएको र गाडीमा रहेका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जौबारीले जनाएको छ।
पक्राउ पर्नेमा चालक गोरखा ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका १० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका ६ का भरतकुमार श्रेष्ठ र गोरखा ८ बस्ने खुसबहादुर थापा छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।