इस्लामाबाद (एजेन्सी)– पाकिस्तानको राजधानी इस्लामाबादतर्फ जाने मुख्य राजमार्ग घेराबन्दी गरेर प्रदर्शन गरिरहेका कट्टरपन्थी धार्मिक समूहलाई हटाउन शनिवार सुरक्षाकर्मी परिचालन हुँदा कम्तिमा ६ जना व्यक्तिको निधन र २ सय भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।
स्थिति गम्भीर बनेपछि सरकारले तत्कालै सेना परिचालन गरेको छ। गृह मन्त्रालयले राजधानी वरिपरिको क्षेत्रमा तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गर्नु परेको बताएको छ। यो घटनाले पाकिस्तानको पछिल्लो राजनीतिमा फेरि उथलपुथल देखिएको छ।
सुरक्षा व्यवस्थालाई लिएर प्रधानमन्त्री शाहिद खाकान अब्बासी र सेना प्रमुख जनरल कमर जावेद बाजवाबीच फोनमा वार्ता भएको पाकिस्तानी सञ्चारमाध्यमले बताएका छन्। सरकारले बढ्दो हिंसालाई नियन्त्रणमा राख्न निजी टेलिभिजन च्यानल, फेसबुक, ट्विटर र युट्युब जस्ता सोसल मिडियामा रोक लगाएको छ।
तहरिक–ए–खत्म–ए–नबुव्वत, तहरिक–ए–लबेक या रसुल अल्लाह र सुन्नी तहरिक पाकिस्तानका प्रदर्शनकारीले शनिवार सार्वजनिक सवारीमा तोडफोड र नेताहरुको घरलाई निसाना बनाएर हमला गर्न थालेपछि सरकारले बाध्य भएर प्रहरी र अर्धसैन्य बल परिचालन गर्नु परेको बताएको छ।
प्रदर्शनकारीले कानुन मन्त्री जाहिद हामिदको राजीनामा माग गर्दै दुई साता अघिदेखि राजधानी इस्लामाबाद आउने मुख्य राजमार्गको सडक अवरुद्ध पारेका थिए।
पाकिस्तान सरकारले चुनाव सम्बन्धि एउटा कानुनलाई भर्खरै संसोधन गरेको थियो। चुनाव जितेपछि अल्लाहकाे नाममा खानु पर्ने सपथलाई हटाएपछि कट्टरपन्थी मौलवीले यसको विरोध गर्दै कानुन मन्त्रीको राजीनामा माग गरेका थिए। मन्त्री हामिदले राजीनामा दिन अस्विकार गरेपछि उनीहरु धर्नामा बस्दै आइरहेका थिए।
सडक अवरुद्ध गर्दा इस्लामाबादबाट दिनहुँ रावलपिन्डी जाने पाँच लाख बढी यात्रुहरु प्रभावित भएको बताइएको छ। सरकारले यसअघिसम्म प्रदर्शनकारी माथि बल प्रयोग गरेको थिएन्। तर, शुक्रबार उच्च न्यायालयले गृहमन्त्री अहसन इकबाललाई अदालतको निर्णय कार्यान्वयन नगराएको भन्दै नोटिस जारी गरेपछि पाकिस्तानी सरकार सक्रिय भएको थियो। अदालतले सडकबाट प्रदर्शनकारीलाई हटाउन गृहमन्त्रीलाई नोटिस जारी गरेको थियो।
इस्लामाबादको अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने फैजाबाद इन्टरचेन्जबाट प्रदर्शनकारीलाई हटाउन ८ हजार प्रहरी र अर्धसैन्य बल प्रयोग गर्नु परेको थियो। प्रहरीले लाठीचार्ज र आँसु ग्यासको गोला फ्याकेका थिए।
चिकित्सकले घटनामा २ सय बढी व्यक्ति घाइते भएको बताएका छन्। जसमा १ सय ३५ सुरक्षाकर्मी पनि समावेश छन्।
प्रदर्शनकारीले कराची र लाहोरमा पनि प्रदर्शन गरेका छन्। स्थानीय प्रहरीले कराचीमा पनि २८ व्यक्ति घाइते भएको बताएको छ। प्रदर्शनकारीले कानुन मन्त्री जाहिद हामिदको पञ्जावको सियालकोट जिल्लास्थित पसरुर क्षेत्रमा पर्ने घरमा तोडफोड गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।