काठमाडौं- प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ। उल्लंघनका घटना सबैभन्दा बढी छापा माध्यममा पाइएको छ।
काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना पाइएका छन्। तीमध्ये ११ वटा छापामा २४, तीन वटा रेडियोमा चार/चार वटा, टेलिभिजनमा पाँच र ६ वटा अनलाइनमा १५ वटा घटना देखिएका छन्।
ती आम सञ्चारमाध्यमले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रचारप्रसार तथा विज्ञापन सम्प्रेषण गरेको पाइएको छ। आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण गरेकाले यी सबै आम सञ्चारमाध्यमलाई पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन तत्कालै पत्राचार गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए।
मौन अवधि सुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आम सञ्चारमाध्यममा यस्तै उल्लंघनका ११३ वटा घटना देखिएका थिए, जसमा २४ वटा छापामा ३४ वटा, १८ वटा रेडियोमा ३२, सातवटा टेलिभिजमा २७ र पाँच वटा अनलाइनमा २० वटा घटना पाइएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।