पर्सा- पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा दल र उम्मेदवारले आचारसंहिताको व्यापक उल्लंघन गरिरहेको स्विकारेका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको निर्वाचन आचारसंहिता र सञ्चार प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कर्णले आचारसंहिता उल्लंघन भइरहेको स्विकारेका हुन्।
आचारसंहिता उल्लंघनको अनुगमनमा आफूसहित टोलीहरु नै खटिएको उल्लेख गर्दै उनले भने, 'पर्सामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ, उल्लंघन गर्नेमा राजनीतिक दल र तिनका उम्मेदवार बढी छन्।'
अनुगमनका क्रममा दल र उम्मेदवारले आचारसंहिताविपरीत सार्वजनिक स्थल, विद्युत पोल, पर्खाललगायतका स्थानमा चुनावी प्रसारप्रसारका लागि ब्यानर, झन्डा, पर्चा पम्प्लेट राखेको भेटिएको थियो। त्यस्ता प्रचारका सामग्री अनुगमन टोलीले हटाए पनि दल र उम्मेदवारले फेरि त्यही स्थानमा ब्यानर र पर्चा पम्प्लेट राख्ने गरेको मुख्य निर्वाचन अधिकृत कर्णले बताए।
निर्वाचन आचारसंहिता राजनीतिक दल र उम्मेदवारलाई मात्र नभई कर्मचारी, पत्रकार र अन्य व्यक्तिको हकमा पनि लागू हुने भन्दै मुख्य निर्वाचन अधिकृत कर्णले निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गर्दा सञ्चारकर्मीले पनि हतार गर्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।