काठमाडौं- रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनका लागि जनताको जिउधनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था मिलाएको बताएका छन्।
राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री प्रधानले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष नहोला कि भनेर शंका नगर्न आग्रह समेत गरे।
चुनाव अगाडि भएका घटनाहरुमा नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको रक्षामन्त्री प्रधानले बताए।
'निर्वाचन बिथोल्न खोज्ने समूहका नेतालाई सुरक्षा संयन्त्रले खोजी गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्', मन्त्रीले भने।
चन्द समूहले वार्ता गर्न चाहेमा चुनावपछि टेबलबाटै समस्या समाधान गर्न सकिने मन्त्री प्रधानको भनाइ थियो।
आइतबार हुने निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्दै उनले भने, 'ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ।'
निर्वाचन बिथोल्न चाहनेहरु दुई हजारको संख्यामा रहेको बताउँदै मन्त्री प्रधानले अहिलेसम्म करिब ५ सय जनालाई गिरफ्तार गरिसकिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।