काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले शान्तिपूर्ण तवरमा निर्वाचन सम्मन्न गर्न सम्पूर्ण व्यवस्था मिलाइएको बताए। उनले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका छन्।
पत्रकार सम्मेलनपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणमा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छु। भोलि बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनुभई मतदानमा सरिक हुन सम्पूर्ण महानुभावमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ।’
प्रमुख आयुक्त यादवले मतदाता परिचयपत्र हराएका वा कारण वश छुटेकाहरुले मतदान गर्न नागिरकता प्रमाणपत्र वा सरकारले जारी गरेको फोटो देखिने कुनै प्रमाण लिएर जान मतदातालाई आग्रह गरेका छन्।
आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरेका मतदाताले मात्र मतदान गर्न पाउने जनाएको छ।
यसैगरी आयोगले निर्वाचन सम्बन्धी सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ। आयोगले भनेको छ, 'निर्वाचनको संवेदनशीलतालाई मनन् गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्प्रेषण गर्नु हुन सम्पूर्ण पत्रकार मित्रहरुसँग आयोग हार्दिक अनुरोध गर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।