नयाँ दिल्ली- भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेकै कारण भएको बताइएको छ।
सैन्य अधिकारीले गरेको भ्रष्टाचारको समाचार लेखेकै कारण आफ्ना सम्वाददाताको हत्या भएको सिन्दन दैनिकका सम्पादक एवं प्रकाशक सुबल कुमार देईले दाबी गरेका छन्।
उक्त पत्रिकाका वरिष्ठ सम्वाददाता ४८ वर्षीय सुदीप दत्त भौमिकको मंगलबार हत्या गरिएको थियो।
घटनाको दिन भौमिक त्यसैसम्बन्धी थप समाचार लिन त्रिपुरास्थित अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफल गएका थिए। उनलाई अर्धसैन्य बलका जवानले गोली हानेका थिए। गोली हान्न आदेश दिने सैनिक अधिकारी तपन देव बर्मालाई समेत प्रहरीले पक्राउ गरिसकेको छ। हाल ती अधिकारी प्रहरी थुनामै छन्।
पत्रिकाका सम्पादक एवम् प्रकाशक देईले भौमिकले गरेको भ्रष्टाचारसम्बन्धी खोजको आधारमा समाचार छापेको र त्यसै दिन सैनिक अधिकारीले बोलाएपछि उनी त्यसतर्फ गएका बताए। अधिकारीको औपचारिक अनुमति मात्र नभएर समय लिएर नै भौमिक कार्यालयमा पुगेको उनको भनाइ छ।
'तर पछि उनको हत्या भयो भन्ने सुनेपछि हामी आश्चर्यमा परेका थियौँ,' सम्पादक देईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।