काठमाडौं– कुनै तलबी जागिर नभएकाभन्दा कमाइ गर्ने नेपाली महिला नै बढी हिंसाको सिकार हुने गरेको एक तथ्यांकले देखाएको छ।
हालै प्रकाशित 'नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६' अनुसार २८ दशवमल २ प्रतिशत कमाउने महिला हिंसामा छन्। जबकि कुनै काम नगर्ने १६ दशमलव ५ प्रतिशत महिला मात्रै हिंसाको सिकार भएका छन्। बेतलबी अर्थात् घरायसी काम गर्ने महिलामध्ये २० दशमलव ७ प्रतिशत हिंसामा परेको सर्वेक्षणले देखाएको छ।
उक्त सर्वेक्षणले विभिन्न शीर्षकमा १५ देखि ४९ वर्षसम्मका महिलासँग हिंसाको अनुभवबारे जानकारी लिएको थियो। त्यसमध्ये धेरैजसो (८० प्रतिशत) महिलाले आफ्ना श्रीमानबाट यौन हिंसा हुने गरेको बताएका छन्।
अविवाहित महिलाभन्दा विधवा, सम्बन्ध विच्छेद भएका र एकल महिला बढी यौन हिंसामा पर्ने गरेको उक्त तथ्यांकले दर्शाएको छ।
नेपालमा ५ महिलामध्ये एकले १५ वर्षको उमेरमै शाररिक हिंसाको महसुस गरिसकेको बताएका छन्। आफ्नै श्रीमानबाट शारीरिक हिंसा पनि बेहोर्ने महिला ८४ प्रतिशत छन्। शिक्षा हासिल नगरेका ३४ प्रतिशत शारीरिक हिंसामा परेका छन् भने एसएलसीभन्दा माथिको शैक्षिक स्तर भएका ८ प्रतिशतमात्रै शारीरिक हिंसाको चपेटामा छन्।
१० मा ३ जना महिलाले श्रीमानले केही कारण देखाउँदै श्रीमती कुट्नु ठिकै रहेको बताएका छन्। २३ प्रतिशत पुरुषले पनि सोही सोच राख्छन्। श्रीमतीले खाना डढाएमा, श्रीमानसँग तर्क गरेमा, श्रीमानलाई नभनीकन बाहिर गएमा, यौनसम्पर्क गर्न नमानेमा र बच्चालाई वास्ता नगरेमा श्रीमती कुट्नु ठिक रहेको सोच उनीहरुमा छ।
हिंसामा परेका दुई तिहाइ महिला भने कहिल्यै सहयोगको खोजीतिर लाग्दैनन्। उनीहरुले आफू हिंसामा परेको अरुलाई नबताएको पनि सर्वेक्षणका क्रममा देखिएको छ।
शारीरिक र यौन हिंसामा घरपरिवारबाटै ६५ प्रतिशत र छिमेकीबाट ३१ प्रतिशत प्रत्यक्ष/अप्रत्यक्ष सहयोग हुने पनि सर्वेक्षणले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।