काठमाडौं– एकमात्र पुत्र प्रकाशको गत आइतबार निधन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकदमै ठूलो शोक र ‘सक’ मा छन्। नहुन् पनि किन, तन्नेरी छोरालाई दागबत्ती दिनुपर्दा कसको मन नभक्कानिएला? त्यसमाथि प्रकाश प्रचण्डका छोरा मात्र थिएनन्, यसभन्दा बढी उनी आफ्ना बाबुको सचिवालयलाई कुशल व्यवस्थापन गर्ने निकट सहयोगी थिए। पार्टीमा पूर्णकालीन भएदेखि नै पिताको सचिवालयमा रहेर सघाउँदै आएका प्रकाश भरपर्दा र अनुभवी ‘स्टाफ’ समेत थिए।
प्रकाशको निधनले प्रचण्डलाई के असर पर्ला? यसबारे प्रचण्डका घनिष्ट सहकर्मी, आफन्त, शुभेच्छुक र लामो समयदेखि उनीसँग संगत गरेका पात्रहरुसँग हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ, त्यसैको निचोड:
१. मानसिक रुपमा प्रचण्डलाई निकै कमजोर गराउनेछ
आफ्नो सन्तान वा आफूसँग एकदमै निकट व्यक्तिको मृत्युले कतिसम्म आघात पार्दो रहेछ भनेर नजिकबाट बुझ्ने पछिल्लो पात्र प्रचण्ड नै बनेका छन्। प्रचण्डको सार्वजनिक जीवनमा उनी रोएको छोराको निधनसँगै सर्वसाधारणले पहिलो पटक देखे।
सन्तानको मायाले जो कसैलाई पनि कति निचर्दो रहेछ भन्ने एउटा उदाहरण थपियो। जनयुद्ध सुरु गरेको केही समयभित्रै तत्कालीन छापामार दस्ताका एक अगुवा विजय घलेले सहादत पाएपछिको श्रद्धाञ्जली सभामा प्रचण्ड पहिलो पटक रोएका थिए भन्ने किस्सा माओवादी पंक्तिको कोर टिममा सुन्न पाइन्छ।
त्यही रोदनपछि नै प्रचण्डले ‘हामी हाँस्दाहाँस्दै रोएका छौं, रुँदारुँदै हाँसेका छौं’ भन्ने अभिव्यक्ति दिएका थिए। यो पंक्तिलाई माओवादीले युद्धकालमा ठूलो आदर्श र कोटेसन बनाएको थियो। यसपछि ०६२ को कात्तिकमा चुनवाङ बैठकको समापनमा देखाइएको ओपेरामा प्रचण्डलगायत माओवादी नेताहरु सुँक्कसुँक्क रोएका भिडियो फुटेज पहुँच हुनेहरुले देखेका थिए।
प्रचण्ड सार्वजनिक रुपमा रोएको चाहिँ पुत्रशोकको बेला पहिलो पटक देखिएको हो। प्रकाशको निधनले प्रचण्डलाई मानसिक रुपमा निकै कमजोर बनाएको छ।
२. अहिले मात्र होइन, भविष्यमा पनि श्रीमती सीतालाई सम्हाल्न गाह्रो पर्नेछ
प्रकाशको निधनकै भोलिपल्ट निवासमा भेट्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत समक्ष प्रचण्डले धक नमानी भने, ‘आफू त जसोतसो सम्हालिएको छु। परिवारलाई सम्हाल्न गाह्रो परिरहेको छ।’
जानकारहरुका अनुसार, सीता छोरा प्रकाशलाई यति माया गर्थिन्, प्रकाशले जस्तोसुकै गल्ती गरे पनि माफ पाउँथे। उनी छोरा भनेपछि हुरुक्कै हुन्थिन्। त्यसैले प्रकाशको निधनको चोटकै कारण सीताको स्वास्थ्य कमजोर बन्दै जान सक्छ। त्यसै पनि प्रकाशको निधन अघिदेखि नै सीता अस्वस्थ छिन्। पुत्रशोकले उनलाई झन् पीडा थपेको छ। तसर्थ सीतालाई सम्हाल्न प्रचण्डलाई कठिन हुनेछ।
३. सुरक्षा चुनौती बढ्नेछ
आफ्ना पिता प्रचण्डलाई कस्तो सुरक्षा खतरा छ, प्रकाश राम्रै जानकार थिए। हुन त प्रकाश मात्र किन, प्रचण्डमाथि सुरक्षा खतरा छ भन्ने कुरा सत्ताका सञ्चालकदेखि सामान्य नागरिकसम्मलाई अन्दाज छ। त्यसैले सरकारले नेपाल प्रहरीका डिएसपी (प्रहरी नायव उपरीक्षक) दानबहादुर मल्ल नेतृत्वमा ठूलो टुकडी नै उनको सुरक्षामा खटाएको छ। यसका साथै सशस्त्र प्रहरी पनि प्रचण्डको सुरक्षामा खटेका छन्। यति टुकडीका बावजुद पनि प्रचण्ड छोरालाई अगाडि देखेपछि सुरक्षामा ढुक्क हुन्थे। जहाँ जाँदा पनि छोरालाई अघि लगाएर हिँड्नुको कारण त्यही थियो। प्रकाशको अभावमा प्रचण्डलाई सुरक्षा चुनौतीको महसुस भइरहनेछ।
४. भरपर्दो विश्वासपात्रको कमी
प्रचण्ड गोप्य भेटघाट/छलफलमा जानुपर्यो भने आफ्नो सुरक्षा दस्तालाई समेत जानकारी नदिई छोरा प्रकाशलाई ड्राइभिङ गर्न लगाएर खुसुक्क जान्थे। छोराको कारण गोपनीयता खुल्ला कि भन्ने त्रास थिएन प्रचण्डलाई। कतिपय विषयवस्तुको नाडी छाम्नुपर्ने भएमा प्रकाशलाई संकेत चुहाउँथे। यसपछि प्रकाशले त्यो विषय फेसबुकबाट सार्वजनिक गर्थे। त्यसबारे धेरै नराम्रो टीका–टिप्पणी भए प्रचण्ड पछि हट्थे, सामान्य रुपमा लिएमा कार्यान्वयन गर्ने बाटोतिर लाग्थे। छोरामाथि विश्वास गरेरै प्रचण्डले यस्ता ‘जाल’ फाल्ने गरेका थिए। प्रकाशको निधनले प्रचण्डमा एक खास विश्वासपात्रको अभाव भइरहनेछ।
५. सचिवालय कमजोर हुनेछ
बाहिरी दुनियाँमा जतिसुकै बदनामी कमाए पनि पिताको सचिवालयका इमान्दार सिपाही थिए, प्रकाश। कतिपय अवस्थामा प्रकाशले बुबा प्रचण्डलाई ‘ए बूढा’ भन्दै (मायाले) कुराकानी गर्थे। प्रकाशले सञ्चारकर्मीहरुलाई समाचारको खुराक पनि मजैले उपलब्ध गराइदिन्थे। जस्तोः गत वर्षको भारत भ्रमणका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रचण्डबीच भएको भेटघाटको फोटो प्रकाशकै कारण सञ्चारमाध्यमसम्म पुगेको थियो। यही वर्षको दशैंमा प्रचण्डले परिवारलाई टीका लगाइदिएको समाचार पनि प्रकाशकै कारण सार्वजनिक भएको थियो। प्रकाशले पिताको सचिवालयलाई प्रविधिमा निकै ‘अपडेट’ राखेका थिए। अरु जो कोही सचिवालयमा भित्रिए पनि त्यो पूर्ति गर्न गाह्रै छ। यसर्थ प्रकाशको निधनले प्रचण्डको सचिवालय कमजोर हुने निश्चित छ।
त्यसो त प्रचण्डका भाइ (काकाका छोरा नारायण दाहाल) का जेठा छोरा समिरले प्रकाशको अभाव पूरा गर्न सक्छन्, जो प्रचण्ड पहिलो पटक प्रधाानमन्त्री बनेपछि उनका स्टाफ थिए। प्रकाशको आवश्यकता पूरा गर्न समिरले पहल पनि सुरु गरिसकेका छन्। छोराको निधन भएको तेस्रो दिन प्रचण्ड परिवार चितवन जाँदा उनै समिरले साथ दिएका थिए।
यता पुराना सहयोगी शिव खकुरेललाई पनि प्रचण्डले आफ्नो सचिवालयमा फर्काउने संकेत देखाएका छन्। मंसिर ५ गते प्रचण्ड परिवार चितवन जाँदा काठमाडौंको सचिवालय खकुरेलले सम्हाले। खकुरेल पनि माओवादी शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डसँगै छन्। करिब दुई वर्षअघिदेखि उनलाई प्रचण्डको सचिवालयले केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘सरुवा’ गरिदिएको थियो। पूर्व सांसद, डिभिजन कमान्डर तथा स्टाफ सन्तु दराईलाई प्रचण्डले फेरि आफैंसँग राख्न सक्छन्। प्रकाशलाई अचेत अवस्थामा कोठामा भेटेपछि सीताले उनै दराईलाई बोलाएर अस्पताल पठाएकी थिइन्।
आसन्न प्रदेशसभाको चुनावमा मोरङ क्षेत्र नम्बर १ (क) बाट प्रत्यासी बनेका ज्वाइँ जीवन आचार्यले प्रचण्डको सचिवालय हाँक्ने चर्चा पनि चितवनमा चलिसकेको छ। आचार्य प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान हुन्। उनी सीताको रोजाइका पहिलो व्यक्ति हुन्।
वाइसीएल प्रमुख रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्डको रोजाइका एक पात्र हुन्। तर, उनलाई सीताले मन पराउँदिनन्। पहिले सचिवालयमा छँदा एकपटक एउटा गल्तीमा प्रकाशलाई थप्पड हानेका थिए। प्रकाशलाई औधी माया गर्ने सीतालाई त्यहीकारण पनि दीपशिखा मन पर्दैन। त्यही घटनापछि उनी सचिवालयबाट बाहिरिएका थिए।
यद्यपि उनीहरु सबैको पुनरागमन भए पनि प्रकाशको अभाव भने पूर्ति गर्ने सम्भावना छैन। बाबु प्रचण्ड र आमा सीतालाई मात्र होइन, सञ्चारकर्मीलाई पनि प्रकाशको अभाव महसुस भइरहनेछ।
यसअघि प्रचण्डमा परिवारवाद हावी भयो भन्ने गम्भीर आरोप लाग्दै आएको थियो। प्रकाशको निधनपछि प्रचण्ड परिवारवादको घेराबाट निस्कन सक्छन् कि सक्दैनन्? उनका सामु पीडाका घडीमा पनि यक्षप्रश्न यही हो।
प्रचण्डलाई नजिकबाट नियालेका माओवादी केन्द्रका एक सचिवालय सदस्यका अनुसार, पुत्रको निधनको प्रभाव प्रचण्डमा पर्न त पर्छ नै, तर त्यसैमा मात्र अल्झिएर बस्ने उनको स्वभाव छैन।
‘प्रचण्डमा पुत्रशोकको प्रभाव परिवारले दिने साथमा पनि भर पर्छ। परिवार सम्हालिएनन् भने प्रचण्ड जतिसुकै सम्हालिन खोजे पनि सम्भव हुन्न’, उनी भन्छन् ‘बाहिरी रुपमा नदेखिए पनि एकमात्र छोराको निधनको मनोवैज्ञानिक असर भने प्रचण्डलाई सधैंभरि परिरहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।