काठमाडौं– निर्वाचनको चार दिनअघि कर्मचारीको काज सरुवा गर्न सरकारले मागेको सहमतिलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवाका लागि सरकारले सहमति प्रदान गर्न लेखी पठाएको पत्र निर्वाचन आयोगले अस्वीकार गरेको हो।
आयोगले काज सरुवाको सक्कलै फाइल २४ घन्टाभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ। गृह मन्त्रालयले काज सरुवा गरेका द्वितीय श्रेणीका ६ जना कर्मचारीमध्ये तीन जना कर्मचारी प्रमुख जिल्ला अधिकारी छन्।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गत भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने समेत आयोगले प्रस्ट पारेको छ। आयोगको निर्णयमा भनिएको छ, ‘माग भएबमोजिमको काज सरुवाका लागि सहमति प्रदाज नगरिएको र उक्त काज सरुवाको निर्णयको सक्कलै फाइल पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगमा उपलब्ध गराउनु हुन समेत निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको अनुरोध छ।’
सरकारले निर्वाचनको सम्मुखमा तीन जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।