काठमाडौं- मंगलबार पक्राउ परेका चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सार्वजनिक गरेको छ।
प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी लामाको बारेमा विवरण सार्वजनिक गरेको छ। लामाले उपचारका नाममा महिलाहरुलाई यौन शोषण गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। अनुसन्धान अनुसार, लामाले जुनसुकै रोग निको पार्न सक्ने दैवी शक्ति आफूसँग रहेको भ्रममा पार्दै उपचारका लागि आउने महिलाहरुको यौन शोषण गर्दै आएका थिए।
‘लामाले पीडित महिलाले उक्त कुरा कसैलाई भनेमा ठूलो क्षति हुने र पुन: रोग बल्झिने डर देखाउँदै यौन शोषण गरेको देखिन्छ’, प्रहरी उपरीक्षक जीवन श्रेष्ठले भने, ‘आफू ३३ कोटि देउताको अवतार भएको र गुरु रिसाएमा अनिस्ट हुने भन्दै त्रास देखाउँदै रोग निको पार्न यौन सम्पर्क राख्नुपर्ने भन्दै शोषण गर्ने गरेका थिए।’
उपचारका लागि पुगेका महिलालाई धर्मगुरु टुल्केले परपुरुषसँग विवाह गरेमा रोग बल्झिएर मृत्युसमेत हुने डर देखाउँदै बारम्बार यौन शोषण गरेको अनुसन्धानबाट खुलेको श्रेष्ठले बताए।
यसका साथै उनले युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राख्दै आएको समेत देखिएको छ। धर्मगुरु विरुद्ध आधा दर्जन उजुरी परेका छन्।
उनलाई जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐनको मुद्दामा सिआइबीले बुधबार नै काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।