डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन बिथोल्न उम्मेदवार र उम्मेदवार चढेको गाडीमाथि भइरहेका आक्रमणको निन्दा गरेका छन्।
आइतबार प्रेस युनियनले डडेल्धुरामा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरिने बताए।
प्रधानमन्त्री देउवाले भने, ‘भोलि काठमाडौं पुगेपछि सुरक्षा निकायको बैठक बोलाएर यस्ता खालका घटना हुन नदिन र आक्रमणकारीलाई कडा कारबाही गर्न निर्देशन दिन्छु।’
जुनसुकै विध्वंसात्मक घटना भए पनि निर्वाचन कुनै हालतमा नरोकिने उनले जिकिर गरे।
देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस बहुमतका साथ विजय हुने दाबी गर्दै जितपछि आफू प्रधानमन्त्री हुने वा नहुनेमा पार्टीले छलफल गर्ने बताए।
देउवा आइतबार धनगढी जाने र सोमबार मात्रै राजधानी फर्किने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।