काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताएका छन्।
आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोक) द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आज आयोजित प्रशिक्षण उद्घाटन गर्दै उनले सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले प्रश्न उब्जाएको बताए।
नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको बताउँदै डा यादवले राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई सुझाव दिए।
संस्थाका कार्यकारी निर्देशक कृष्णमान प्रधानले २५ वर्षदेखि नियोगले निर्वाचन पर्यवेक्षण गर्दै आएकामा यस पटकको निर्वाचनमा ८०० जना पर्यवेक्षक खटाउन लागेको जानकारी दिए।
मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुलुकका ५२ संस्था र अन्तर्राष्ट्रिय चार संस्थाले निर्वाचनको पर्यवेक्षण गर्न अनुमति पाएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।