काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम गठबन्धनका सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी अभियान नरोक्न भनेका छन्।
छोरा प्रकाशको निधन भएको खबर बिहान ६ बजे बिर्तामोडमा पाएपछि काठमाडौं फर्किने क्रममा ओलीसँग प्रचण्डले चुनाव प्रचारलाई नियमित गर्न भनेको एमालेका कार्यकर्ताले नेपाल लाइभलाई बताएका छन्।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई दिनदेखि पूर्वाञ्चलको चुनावी सभामा सक्रिय थिए। शनिबार दमकमा संयुक्त चुनावीसभालाई सम्बोधन गरेपछि प्रचण्ड बिर्तामोड पुगेका थिए भने ओली आफ्नो संसदीय क्षेत्र दमकमै बसेका थिए।
तर, बिहान प्रकाशको निधनको दुःखद समाचार सुनेपछि ओली साढे ६ बजे नै विर्तामोड पुगेको ओलीनिकट एमालेका युवा नेता पिताम्बर तिम्सिनाले बताए। बिर्तामोडको बिएन्डसी अस्पतालको छतमाथि बनेको हेलिप्याडबाट बिहान ८ बजे काठमाडौं उड्नुअघि यी दुई शीर्ष नेता करिब डेढ घन्टा सँगै थिए।
‘केपी कामरेडले प्रचण्ड कमरेडलाई संवेदना दिने क्रममा शोकलाई शक्तिमा बदल्न प्रार्थना गर्नु भयो। प्रचण्डले पनि चुनावको कुनै कार्यक्रम नरोक्न र पूर्वाञ्चलको सबै कार्यक्रममा अग्रसरता देखाउन केपीलाई आग्रह गर्नुभयो’, प्रचण्डलाई समवेदना दिन केपीसँगै ‘बिएन्डसी’ अस्पताल पुगेका तिम्सिनाले भने।
प्रचण्डको आग्रह अनुसार आइतबार दिउँसो १२ बजे काँकडभिट्टा र ३ बजे मोरङको विराटचोकमा आयोजना हुने चुनावीसभालाई केपी ओलीले सम्बोधन गर्दैछन्।
सोमबार बिहान ओली काठमाडौं आउने कार्यक्रम छ। प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्किनुअघि दुवै नेताले करिब आधा घन्टा एक्लै कुराकानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।