हरारे (एजेन्सी)– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै शनिवार राजधानी हरारेमा हजारौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन्। सेनाद्धारा शान्तिपूर्ण कब्जापछि हजारौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका हुन्।
मुगाबेलाई हटाउने सेनाको अभियानमा सर्वसाधारणको प्रदर्शनलाई समर्थनको रुपमा हेरिएको छ। एक प्रदर्शनकारी फ्रेड मुबेले भने, ‘मलाई क्रिसमस जस्तो वातावरण लागिरहेको छ। जिम्बाबेले लामो समयदेखि पीडा मात्र सकेको छ। अब यहाँको मानिसहरु खुसी भएका छन्।’
प्रदर्शनमा थुप्रै व्यक्तिहरु राष्ट्रिय झन्डा बोकेर सडकमा निस्किएका थिए। एक व्यक्तिले बोकेको पोस्टरमा ९३ वर्षीय मुगाबेको बारेमा लेखिएको थियो, ‘अब जिम्बाबेलाई छोडी देऊ।’
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले यसलाई एकता मार्च भनेको छ। सेनाले गत बुधबार देशमा नियन्त्रण बनाएको थियो। तर, मुगाबेले पद परित्याग गर्न अस्विकार गरिरहेका छन्।
सतारुढ जानु–पिएफ पार्टीको क्षेत्रीय शाखाका कार्यकर्तासहित पूर्व सैनिकले पनि मुगाबेलाई ४८ घन्टामा पदत्याग गर्न दबाब दिइरहेका छन्। पूर्व सैनिकहरु मुगाबेप्रति बफादार मानिन्थे।
शुक्रबार मात्र पार्टीको १० प्रान्तीय शाखाले मुगाबे विरुद्ध अविश्वास प्रस्ताव पारित गरेका थिए। यो घटनाका कारण आइतबार उनी पार्टी अध्यक्षबाट हटन सक्ने सम्भावना छ। १९८० मा बेलायतबाट स्वतन्त्रता पाएदेखि मुगाबे जिम्बाबेको राष्ट्रपति छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।