काठमाडौं– हिन्दु धार्मिकग्रन्थहरुमा शिर छेदनपछि अर्काको टाउको ल्याएर जोडेको कथा हामीले थुप्रै पढ्दै र सुन्दै आइरहेका छौं। तर, अबको केही महिना पछि नै हामीले त्यो पढ्ने र सुन्ने मात्र होइन, आफ्नै आँखाले देख्ने सौभाग्य पनि प्राप्त गर्देछौं।
इटालीका न्युरोसर्जन सर्जियो कानाभारोले विश्वको पहिलो मानव मस्तिष्कको चीनमा प्रत्यारोपण गर्दैछन्। युरोप र अमेरिकाले उनलाई मानव मस्तिष्क प्रत्यारोपण गर्न रोक लगाएपछि उनी चीन सरकारको स्विकृति लिएर चिनियाँ डाक्टर सियोपिङ रेनलगायत चिकित्सकहरुको ठूलो दलसँग मिलेर यो कार्यलाई निस्कर्षमा पुर्याउँदैछन्।
उनले गर्न लागेको प्रयोगको विषयमा आलोचना पनि भएको छ। खासमा युरोप र अमेरिकी चिकित्सकहरुले यो निकै संवेदनशील विषय भएको र कानाभारोको रिसर्च राम्रोसँग बाहिर नआएको अवस्थामा यसले चिकित्सा विज्ञानमा नकरात्मक सन्देश जान सक्ने आशंका ब्यक्त गरेका छन्।
कानाभारोले गत शुक्रबार भियानामा पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकीहरुले आफ्नो रिसर्च नबुझेको आरोप लगाए। उनले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको महानतालाई पुनस्थापित गर्न चाहन्छन्। उनी आफ्नो देशलाई सर्वशक्तिमान बनाउने अभियानमा छन् र म विश्वस्त छु, उनले यो गरिकन छोड्ने छन्।’
न्युरोसर्जन कानाभारोले अमेरिकी समाचार संस्थाहरुलाई दिएको अन्तर्वार्तामा उनले यो सर्जरी पहिले आफूले अमेरिका वा युरोपको कुनै मेडिकल इन्स्टिच्युटमा गर्न चाहेको बताए। ‘कुनै अमेरिकी मेडिकल इन्स्टिच्युट वा सेन्टरहरुले मेरो रिसर्चलाई महत्व दिएको जस्तो लागेन्। अमेरिकी सरकारले पनि समर्थन गरेन,’ उनले भने।
क्यानाभारोले चीनमा हुने मानव मस्तिष्कको प्रत्यारोपणमा दिने र लिने व्यक्तिको परिचयलाई गोप्य राखेका छन्। उनले पत्रकारसम्मेलनमा स्वास्थ्य शरीर र ‘ब्रेन–डेड’ मात्र भएको दाताको मस्तिष्कको चयन गर्दै टाउकोमा कुनै पनि रोगको संक्रमण नभएको व्यक्तिमा प्रत्यारोपण गरिने जानकारी दिए।
उनले यो सर्जरीका लागि अनुमानित खर्च १० अर्ब ४१ करोड रुपैयाँ (१० करोड डलर) हुन सक्ने बताएका छन्। र यसमा दर्जनभन्दा बढी सर्जन र अन्य विशेषज्ञ चिकित्सक सम्मिलत हुने बताइएको छ।
डा कानाभाराेले २०१४ मा दिएकाे मन्तब्य।
उनले निकै संयमित भएर मेरुदण्डबाट दाताको मस्तिष्कको जोडिएको नसाको सानो–सानो कोसिका छुट्याइने र यसलाई अर्को शरीरको मेरुदण्डमा जोडिने बताए।
दाताको शरीरबाट मस्तिष्कलाई अलग गर्न २४ घन्टाभन्दा बढी निरन्तर मिहिनत गर्नुपर्ने उनले बताए। यसपछि अर्को शरीरमा जोड्न घाँटीको अनेकौं भागसँग सम्बन्ध राख्ने नसाको कोसिकाहरु जोड्ने काम हुनेछ। यसअवधिमा प्रत्यारोपण गरिने व्यक्तिको स्वास–प्रश्वासक्रिया र शरीर भित्रको रगतको वहाबलाई दुरुस्त राख्न मेसिनको सहारा लिने बताइएको छ।
सल्यक्रिया सफल भएपछि केही समय विरामी कोमामा जाने र यस अवधिमा औषधीको प्रयोग गरिने बताइएको छ।
रोचेस्टरको मायो क्लिनिकका पूर्व सर्जन मिचेल सारले कानाभारोको कार्यले सफलता पाएको खण्डमा यसले चिकित्सा विज्ञानमा क्रान्ति ल्याउने दावी गरेका छन्।
टुरिन एडभान्स न्युरोमाडुलेशन समूहको निर्देशक रहेका कानाभारोले करिब तीन वर्ष अगाडि आफूले मानव मस्तिष्कको प्रत्यारोपण गर्ने घोषणा गरेका थिए। उनले यही वर्षको जनवरीमा चिनियाँ चिकित्सकहरुसँग मिलेर बादरको मस्तिष्कको सफल परीक्षण गरेको बताइएको छ। यतिबेला बादर २० घन्टासम्म जिवित रहन सफल भएको थियो।
उनले मानव मस्तिष्क प्रत्यारोपणको कार्य सफल भएको खण्डमा प्यारालाइसिसलाई नियन्त्रण गर्न सहज हुने बताएका छन्। सन् १९७० मा रोबर्ट जे वाइटले पनि बादरमा यसको परीक्षण गर्न खोजेका थिए। तर, त्यो सफल भएको थिएन।
उनले अहिलेसम्म आफ्नो सोध सार्वजनिक गरेका छैनन्। तर, उनले विश्वास दिलाएका छन्, केही दिनपछि नै उनी योसँग जोडिएको दस्तावेजहरु सार्वजनिक गर्नेछन्।
उनी यही वर्षको डिसेम्बरमा मानव मस्तिष्क प्रत्यारोपणको तयारीमा होम्मिएको बताइएको छ।
एजेन्सीहरुकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।