काठमाडौं- एसएलसी पास गर्दा आशान्त शर्माको उमेर १९ वर्ष भइसकेको थियो। सानैमा बाआमा छुट्टिएपछि उनको जीवन कहिले आमासँग विराटनगर त कहिले बाबुसँग नवलपरासीमा बित्यो। उनले किशोरवयको अधिकांश समय भने नेपाल-भारत गर्दैमा बिताए।
नवलपरासीको लगुनाहामा सांस्कृतिक गतिविधि भइराख्थे र तिनमा निकै चाख मानेर सहभागी हुन्थे आशान्त। 'हाम्रो गाउँमा नाच समिति नै थियो। वरिपरिका गाउँमा पनि विभिन्न सांस्कृतिक कार्यक्रम हुन्थे,' उनी बाल्यकालीन स्मृतितिर फर्कन्छन्, 'गाउँमा नाटक झिकाएर देखाउने चलन हुन्थ्यो। छिमेकी गाँउमा दशैंको बेला रामलीला खुब मजाले हेरिन्थ्यो।’
आठ कक्षा पढेर थप अध्ययनका लागि भारत भासिए उनी। तर, ज्याला मजदुरी नगरी भएन।
कान्छी आमासँग बसिरहेका बाबु पछ्याउँदै उनी भारत गएका थिए। उतै बसेर पढूँला भन्ने थियो मनमा तर त्यहाँ पुगेपछि उनको चाहना पूरा हुन पाएन। भेटेजति सबै काम गरे। दिल्ली, मुम्बई, ग्वालिवर, पटियाला आदि ठाउँमा उनले करिब ६ वर्ष गाडीको बेरिङ बनाउने, भोजको अर्डर लिने आदिइत्यादि गरे। भारत बसाइबाट अघाएपछि उनी २०५८ सालमा नेपाल आए। ९ कक्षामा भर्ना भए र, पढाइलाई निरन्तरता दिन थाले।
काठमाडौं संघर्ष
एसएलसी सकेर आशान्त राजधानी छिरे र सरस्वती क्याम्पसमा भर्ना भए। पढाइ सँगसँगै उनी बालुवाटरको एक रोअर पानीपम्प कम्पनीमा काम पनि गर्थे गर्न थाले। उनका भाइ राज विराटनगरको नाट्यस्वर नाट्य समूहसँग आबद्ध थिए। आशान्त भारतबाट फर्केपछि भाइहरुसँगै नाट्य टोलीमा बुटवल गए। 'मैले त्यहाँ व्यवस्थापकको भूमिका गरेर सघाएको थिएँ,’ उनले भने, ’पछि भाइ मकहाँ आउन थालेपछि उनीहरूसँग फेरि भेटघाट बाक्लियो। नाटकको कुरा हुन थाल्यो।'
भाइहरुकै आग्रहमा उनले चुनाव प्रचारका लागि एउटा पार्टीका चार वटा गीत लेखेर रेकर्डसमेत गराएका रहेछन्। तर उनमा कलाको चाख थियो।
प्रकाश घिमिरे लगायतका साथीले नाटक, टेलिफिल्म र फिल्ममा समेत काम गर्नुपर्छ भनेर उक्साएपछि आशान्तको कलाकारिता फेरि जागेर आयो।
'सुरूमा काठमाडौंमा नाटक देखाउने योजना थियो। कलाकार पनि विराटनगरबाटै आएका थिए तर नाटक नहुने भयो,' उनी सम्झिन्छन्, 'पछि वीरगन्जमा नाटक देखाउने भनियो र मलाई व्यवस्थापकको जिम्मेवारी दिइयो। साथीहरुले जागिर छोडेर नाटकमै लाग्नुस् भनेपछि मैले निर्णय लिएँ।' यसपछि टिम वीरगन्ज पुग्यो। फिल्मका मुख्य कलाकारको समूह नेतासँग के कुरा मिलेन उनी काठमाडौं फर्किए।
'भोलि नाटक छ। मुख्य कलाकार गाडी चढेर काठमाडौं फिर्ता। दीपक सुनाम दाइले मलाई 'तिमी गर्न सक्छौ' भन्नुभयो। रातभर डायलग रटियो, अभ्यास गरियो र नाटक देखाइयो,’ उत्साहित हुँदै आशान्तले आफ्नो स्टेज डेब्यु नाटक ’माईराम’ सम्झिए।
'जागिर नै छाडेर नौटंकी लाइनमा लागेको' भनेर दिदीले आशान्तको झाँको झारिन्। त्यतिबेला उनको कमाइ महिनाको तीन हजार थियो।
जागिर छोडेर उनमा नाटकको नशा चढिसकेको थियो। दिदीको गाली सुने, बसे।
पहिलो नाटक गर्न स्टेजमा उत्रिँदा मुटु ढक्क फुलेको उनलाई आज पनि याद छ।
नाटकले देश दौडाहा गर्यो। भन्छन्, ’सायद मेरो मनको चाहना त्यही थियो, खास धेरै विस्मात् पनि रहेन।’
डान्सबारमा गीत
नाटकमा लागेपछि उनले काठमाडौंको डेरा पनि छोडिसकेका थिए। काठमाडौं आएपछि फेरि शून्यबाट नै संघर्ष सुरू भयो। उनले एक डान्सबारमा गीत बजाउने काम पाए। एक प्रहरी अधिकृतले चलाएको सो डान्सबारमा अशान्तकी साथीकी दिदी नाच्थिन्। त्यही कमाइले काठमाडौंको गुजारा चलिरहेको थियो।
’पहिलाको जागिर र कमाइ सम्झेर आफैलाई सरापेँ पनि’, उनले भने ’मलाई सपना देखाउने साथीहरूबाट धोका भएको महसुस गरेँ।’
उनको मन अस्थिर भइसकेको थियो। के गर्ने के नगर्ने। एउटा सांस्कृतिक समूह बनाउनेतिर पनि सोच बनाए। नाट्यस्वरबाट छुट्टिएर संघर्ष गर्न काठमाडौं आएका केही साथीलाई उनले बारहरूमा नाच्ने काम दिलाइदिए। उनले तिनै साथीको भरोसामा ज्ञानेश्वरमा ’नेपाल युवा तथा कला समूह’ नामक समूह नै खोले। पहिलाको बचत र कमाइबाट बडो कठिनले उनले त्यो समूह खोलेको उनी सुनाउँछन्। सो समूहले केही सडक नाटक पनि गर्यो।
यसबीच उनी फिल्महरूमा सहायक नृत्य निर्देशक भए। नेपाल टेलिभिजनमा ’द कलेक्सन’ कार्यक्रम पनि चलाए। अनेक म्युजिक भिडियो निर्माण गरे, केही सिरियलमा अभिनय गरे।
अनुप बरालसँगको भेट
रंगकर्मी अनुप बराल नाटकको कक्षा सञ्चालन गर्ने तयारीमा थिए। साथीमार्फत आशान्तलाई यो खबर सुन्दा निकै खुसी भए। तर खुसीको उचाइ शुल्क सुनेपछि लत्रियो। ’नाटकको फि १५ हजार थियो, जुन म तिर्न सक्दैन थिएँ,' त्यसबेलाको बाध्यता सुनाउँछन् उनी।
एउटा कार्यक्रमको सिलसिलामा बराललाई उनले आफ्नो व्यथा सुनाएछन्। 'म केही गरूँला' भन्ने जवाफ पाएपछि उनी निकै खुसी भए। यो २०६४ सालको घटना थियो। त्यसबेला उनी राष्ट्रिय नाटक महोत्सवमा आफ्नै निर्देशनको ’प्रेतका पिताहरू’ लिएर पुगेका थिए।
बरालले आशान्तको कुरालाई गम्भीर रूपमा लिएका रहेछन्। एक दिन रंगकर्मी राजन उप्रेतीले आशान्तलाई एउटा सुनौलो प्रस्ताव सुनाए, जसले उनको आगामी नाट्य यात्रालाई सही दिशा र गति दिनेवाला थियो।
उप्रेतीले फोनमा सोधे, ’नाटक गर्ने होइन?’
आशान्तले पनि प्रश्नै गरे, 'कसको नाटक?'
’अनुप बराल सरको।’
बराल त्यतिबेला ’टलकजंग भर्सेज टुल्के’ नाटकको तयारी गर्दै थिए। नाटकको अडिसनमा उनी गए, सानो भूमिकामा अटाउन पाए पनि हुन्थ्यो आशा बोकेर पुगेका आशान्त शीर्ष भूमिकामा छनोट भए। यो उनका लागि व्यक्तै गर्न नसकिने खुसी थियो। हुन पनि ३४ वर्षको उमेरमा पाएको यो मौकाले रंगकर्मीमा अर्को रङ दिनेवाला थियो। चार जनालाई पन्छाउँदै उनी सो भूमिकामा छनोट भएका थिए।
सो नाटकले उनलाई फेरि दिल्ली पुर्यायो। दिल्लीबाट फर्किएपछि अनुपले भने, ’क्लास सुरू हुँदैछ, लिनुपर्छ। नाटक गरिहाल्यौ, तिमीलाई स्कलरसिप भयो।’ उनी एक्टर्स स्टुडियोका तेस्रो ब्याचका विद्यार्थी भए।
अहिले आशान्त यही स्टुडियोका नियमित शिक्षक भइसकेका छन्।
त्यसपछि उनी फुलटाइमर रंगकर्मी भए। यताउति भौंतारिनुपरेन। नाटक सिक्नुअघि उनलाई लाग्थ्यो, सबै कुरा जानिएको छ। सिक्न थालेपछि थाहा पाए, फगत एउटा भ्रम रहेछ, जानेको केही रहेनछ। कलाकारितामा सिकाइ कहिल्यै नटुंगिने रहेछ। उनलाई यस्तै लाग्न थाल्यो।
टलकजंगयता उनले मलामी, तीन एकान्त, काफ्काज् एक अध्याय आदि नाटक गरे। उनले नेपालीभन्दा अंग्रेजी नाटक बढी गरेका छन्। ’वेटिङ फर गोदो’, ’थ्री पेनी अपेरा’, ’मेटामोर्फोसिस’, ’कन्फ्रेन्स अफ दी वर्डस्’, ’अ मुन फर दी मिस बिगटेन’ आदि। अभिनयसँगै उनी नेपाली मञ्चमा मञ्चन भएका गतिला नाटकहरूका निर्देशक समेत हुन्।
’प्रेतका पिताहरू’, ’कथादेश २’, कथादेश ३’, ’कथा एक्सप्रेस’, ’उम्बुक्टल्यान्डको मुडभेड’, ’दरौंदीको पानी’, ’नयनावती’ आदि उनले गरेका अरु नाटक हुन्।
नाटक अनुवाद, अभिनय, निर्देशन गर्ने आशान्तलाई सबैभन्दा सजिलो काम अभिनय अनि त्यसपछि निर्देशन लाग्छ। उनैलाई थाहा छैन- आफू अभिनेता राम्रो हो कि निर्देशक। अरूबाट पनि उनले कहिले नाटक गर्दा निर्देशनमा तारिफ बटुल्छन् त कहिले अभिनयमा। 'गतिलो गरिनस्' भनेर कोहीकोही बेला खोट लगाउने पनि छन्।
नाटक वा कला क्षेत्रमा नआएको भए आशान्त शर्मा के हुन्थे होलान्?
यो प्रश्नमा एकछिन सोचमग्न भएका ४४ वर्षीय उनले जवाफ दिए, ’म राम्रो किसान हुन्थेँ। तपाईंलाई थाहा नहोला म एकदमै राम्रो किसान हुँ।’
नवलपरासीमा रहेको आफ्नो खेतीपाती हेर्न बेलाबेलामा पुगिरहन्छन् उनी। दुई छोरा र श्रीमती उतै छन्। आफ्नी पत्नीको सहयोगले नै आशान्त काठमाडौंमा सपनाको इन्द्रेणी फुलाइरहेका छन्। ’उनले मेरो सपनालाई नै आफ्नो सपना ठानिन् र म यहाँ रमाउन पाइरहेको छु’, उनले पत्नीलाई धन्यवाद दिए, ’नत्र म कहाँ यस्तो खुल्ला साँढे बनेर हिँड्न पाउँथे र?’
उनी आफ्नो कला जीवनसँग अझै सन्तुष्ट हुन सकेका छैनन्। एउटा सपना अझै उनीभित्र बाँकी नै छ।
के होला त्यो सपना?
’एउटा राम्रो मिठो कलात्मक फिल्म बनाउने र देश विदेशमा नेपाली फिल्मको नाम फैलाउने’, उनी एकछिन रोकिए, ’तर व्यापारीको माझमा सपना देख्न पनि नसकिने र भन्न पनि नसकिने रहेछ।’
उनले आफ्नो सपनालाई अझै मर्न दिएका छन्। आशा सँगसँगै डोहोर्याइरहेका छन्, आफ्नो नाम जस्तै- आशान्त।
'आशाको कहिल्यै अन्त्य हुँदैन,' भन्छन्, 'आशाले नै जीवनलाई अगाडि बढाइराख्दो रहेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।