काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
महाशाखाको टोलीले बुधबार काठमाडौंको नयाँबजारबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता केदार खतिवडालाई पक्राउ गरेको हो।
खतिवडालाई पक्राउ गरिएको पुष्टि गर्दै महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘बम विस्फोटमा संलग्न भएको देखिएपछि पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको छ।’
पक्राउ परेका खतिवडा पोलिटब्यूरो सदस्य भएको प्रहरीले जनाएको छ। यसभन्दा अघि उनी अखिल क्रान्तिकारीका नेता थिए।
नख्खुमा भएको बम बिस्फोटमा परेर एक जनाले ज्यान गुमाएका थिए भने दुई जना घाइते भएका थिए।
आज मात्रै प्रहरीले एसएमजी, पेस्तोल र २ सय राउण्ड गोलीसहित कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको थियो। केही दिनअघि मात्रै सुनसरी प्रहरीले विप्लव समूहकै एक समस्यलाई एसएसमजी र एम १६ सहित पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।