काठमाडौं- अंकगणितीय रूपमा दुई तिहाइ बहुमतप्राप्त शक्तिशाली वर्तमान सरकारले फागुन ३ गते एक वर्ष पूरा गरेको छ। अघिल्लो वर्ष दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न आइपुगेका केपी शर्मा ओलीले अपेक्षाकृत काम गर्न नसकेको आरोप लाग्ने गरेको छ। प्रधानमन्त्रीले भने काम भइरहेको तर नेपालको प्रगति देख्न नचाहने समूहले नागरिकमा निराशा बाँडेको आरोप लगाउने गरेका छन्।
सरकारको यो एक वर्ष समग्रमा कस्तो रह्यो? प्रतिपक्षीले आफ्नो भूमिका निर्वाह गर्न सक्यो कि सकेन? राजनीतिसँगै अर्थतन्त्र, सुरक्षा अपराध तथा आम जनचासोका क्षेत्रमा सरकार कहाँ देखियो? यिनै समग्र विषयमा नेपाल लाइभले यो हप्ताभर विशेष प्याकेज सामग्री प्रकाशन गर्यो। तपाईंको सहजताका लागि २२ वटै सामग्रीलाई यहाँ एकैठाउँ प्रस्तुत गरेका छौं।
१. सरकारको एक वर्ष : औसत १५ दिनमा एक विवाद
जसरी सकारको काम फटाफट भइरहेको देखिनुपर्ने हो, त्यस्तो देखिने गरेको छैन। बरु, औसत १५ दिनमा एक विवादमा सरकार फस्ने गरेको छ। सरकार बनेको १२ महिना बित्दा ऊ दुई दर्जनभन्दा बढी विवादहरुमा फसिरहेको छ। सिन्डिकेट अन्त्य तथा विमानस्थलबाट सुन भित्र्याउनेलाई कारबाही गर्ने जस्ता विषय हल्लैमा सीमित भए। मन्त्रीका हलुका बोलीहरु विवादमा परे। एक जना मन्त्रीले त राजीनामा नै दिनुपर्यो। पत्रकारहरुलाई अनावश्यक रुपमा थुनियो, कुटियो।
नेपाल लाइभले केही विवादहरुको पुनः स्मरण गरेको छ। पढ्नका लागि यहाँ क्लिक गर्नुस्।
२. प्रमुख प्रतिपक्षीका एक वर्ष : कहाँ चुक्यो कांग्रेस?
इतिहासकै ‘लज्जास्पद’ हार बेहोरेको कांग्रेसले सरकार बनेको सुरुका समयमा प्रतिपक्ष दलको भूमिका निर्वाह गर्नै सकेन। सरकारको ६ महिने कार्यकाल सकिने समयसम्म ‘कमजोर प्रतिपक्षी’का रूपमा चित्रित भयो कांग्रेस। एक वर्षमा प्रमुख प्रतिपक्षी कांग्रेसको भूमिका कस्तो रह्यो त? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
यो पनि : यी हुन्, सरकारका १७ राम्रा काम
३. नेकपा घोषणापत्रका एकवर्षे प्रतिबद्धता, जो पूरा भएनन्
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा जाँदा संयुक्त घोषणापत्र सार्वजनिक गरेका थिए। गत जेठ ३ मा यी दुवे पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। गठबन्धनको घोषणापत्रलाई विश्वास गरेर जनताले मत दिएका थिए, तर हालको नेकपाले त्यतिबेला गरेका धेरै प्रतिबद्धता अनुरुप काम गर्न सकेको छैन। के थिए प्रतिबद्धता? जो पूरा हुन सकेनन्। विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
४. रुमल्लिए राष्ट्रिय गौरवका आयोजना
रेल र पानीजहाज शक्तिशाली ओली सरकारले बढी प्रचार गरेका शब्द हुन्। पूर्व-पश्चिम रेलमार्ग सहित सरकार राष्ट्रिय गौरवको अरु आयोजनामा पनि केन्द्रित छ। कुन आयोजनाको काम कति भइरहेका छन् त? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
५. देशको अर्थतन्त्र कुन लयमा?
प्रधानमन्त्रीको सपथ ग्रहणसँगै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने उद्घोष गरेका थिए। यो एक वर्षमा सरकार कुन लयमा काम गर्दैछ? देशको अर्थतन्त्र कता मोडिँदै छ? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
६. गृहका ८२ बुँदे प्राथमिकता : अपुरा योजनाको चाङैचाङ
गृहमन्त्री रामबहादुर थापाले सुरुवाती दिनमा आक्रामक काम थालेका थिए। दैनिकजसो प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कार्यालयमा निरीक्षण गर्थे। सिंहदरबारस्थित प्रहरीको मेसमा जवानसँग खाना खाएर पनि चर्चामा आए। कारागारको अनुगमनमा निस्किए। सुन काण्डको अनुसन्धान सुरु गर्दै 'ठूला माछा' पक्राउ गरेरै छाड्ने बताए। गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै गृहमन्त्री थापाले ८२ बुँदे कार्ययोजना पनि प्रस्तुत गरेका थिए। उक्त कार्ययोजनाका कति काम भए त? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
७. परराष्ट्रमन्त्री ज्ञवाली कति सफल कति असफल?
परराष्ट्रमन्त्री पदमा आसीन भएसँगै प्रदीप ज्ञवालीले देशभित्र सञ्चालित एनजिओ/आइएनजिओलाई जथाभावी काम गर्न नदिने र घर-घरमा गएर 'बाइबल' बाँड्ने काम रोक्न कडा कदम चालिने बताएका थिए। तर नेपालमा नव-क्रिस्चियानिटी मुभमेन्टको एक धार सम्हालेको युनिर्भसल पिस फेडेरेसनले धेरै देशमा हुन नसकेको एसिया प्यासफिक समिट नेपालमै सफलतापूर्वक सम्पन्न गर्यो। ज्ञवालीको यो अवधि कस्तो रह्यो? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
८. कम्युनिस्ट सरकार छ, तर वामपन्थी चरित्र छैन
कांग्रेस नेता प्रदीप पौडेलले वर्तमान सरकारमा वामपन्थी चरित्र नभएको आरोप लगाएका छन्। नेपाल लाइभमा एक लेख लेख्दै उनले सरकारको एकवर्ष असक्षमताको इतिहासमा भने सम्झन योग्य वर्ष भएको उल्लेख गरेका छन्। नेता पौडेलेको लेख विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
९. केपी ओलीलाई अहिले भाषण सुहाउँदैन, काम सुहाउँछ : राजेन्द्र महतो [अन्तर्वार्ता]
राजपा कहिले सरकार पक्षीयजस्तो, कहिले प्रतिपक्षीजस्तो प्रतीत हुन्छ। प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई समर्थन गरेको छ, तर बेलाबखतमा कडा आलोचना पनि गरिरहेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा जाने हल्ला पनि बारम्बार चलिरहन्छ। सरकारले एक वर्ष पूरा गरेक सन्दर्भमा राजपाका एकजना अध्यक्ष राजेन्द्र महतोसँग हामीले कुराकानी गरेका छौं। अन्तर्वार्ता विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१०. लोकतन्त्रले कुनै एउटा मसिहाको परिकल्पना गर्दैन : उज्ज्वल प्रसाई [अन्तर्वार्ता]
यो एक वर्षमा सरकारले के गर्न सक्थ्यो, ती काम गर्न सक्यो कि सकेन, किन सकेन, प्रधानमन्त्रीका रुपमा केपी ओलीमा कस्ता कमजोरी रहे, जसका कारण उनले काम गर्न नसकेको आरोप सघन बन्यो? यस्ता विषयमा नेपाल लाइभले विश्लेषक उज्ज्वल प्रसाईसँग पनि कुराकानी गरेको छ। अन्तर्वार्ता विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
११. संसद्मा आफैले उठाएका मुद्दामा कांग्रेसले अडान लिन सकेन : रामचन्द्र पौडेल [भिडियो वार्ता]
सरकारले एक वर्ष पूरा गर्दैगर्दा हामीले विपक्षीहरुको समेत भनाइ समटेका छौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा आफैले उठाएका मुद्दामा कांग्रेसले अडान लिन नसकेको हामीसँगको कुराकानीमा स्वीकार गरेका छन्। अन्तर्वार्ता विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
यो पनि : सरकारले हिँडेको बाटो नै उल्टो : कमल थापा [भिडियो]
१२. श्रममन्त्री विष्टको एक वर्ष : मजदुरको पारिश्रमिक वृद्धिदेखि सामाजिक सुरक्षा कोष सञ्चालनसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षको अवधिमा केही सकारात्मक कार्यहरु गरेको छ। ०७५ साउन १ गते देखि लागू हुने गरी न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गर्दै १३ हजार ४ सय ५० कायम भयो।
प्रत्येक प्रदेशमा कम्तीमा एउटा कार्यालय रहने ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना भए। - नेपाल सरकार र मलेसिया सरकारबीच द्विपक्षीय श्रम समझदारी पनि भयो। मन्त्री गोकर्ण विष्टले एक वर्षको अवधिमा गरेको भनी दाबी गरिएका काम कस्ता छन्? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१३. यी हुन् भूमि व्यवस्था मन्त्री अर्यालले ५ महिनामा गरेका प्रमुख कार्यहरु
कानुनमै व्यवस्था गरेर शक्तिशाली भूमि आयोग गठनको तयारीमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय लागेको छ। मन्त्री पद्मा अर्यालले यसबीचमा २ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिन्। भदौ १८ गतेदेखि भूमि व्यवस्था मन्त्रालय सम्हालेकी उनले कस्ता काम गरिन्? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१४. खानेपानी मन्त्रालयको ‘उल्लेख्य प्रगति’मा ५ सय १८ खानेपानी आयोजना
बिना मगर खानेपानी मन्त्रीमा नियुक्त भएको २५ दिनपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग ’ब्रेक थ्रु’ भयो । मेलम्ची आयोजनाले २७ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धिसमेत भन्यो। तर अन्तिममा ठेकेदार कम्पनी काम छाडेर भाग्यो। सरकारले ठेक्का रद्द गर्यो। यसबीच मन्त्रालयले गरेका केही सकारात्मक काम यस्ता छन्। विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१५. एक वर्षमा भएका यी चर्चित अपराध, जसका दोषी अझै पत्ता लागेनन्
गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रामबहादुर थापाले आफ्नो ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरे। त्यस्तै प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि सर्वेन्द्र खनालले पनि १० बुँदे प्राथमिकता सार्वजनिक गरे। यी प्राथमिकता र प्रतिबद्धताबाट अपराधको न्यूनीकरण हुने विश्वास गरिएको थियो। तर यसैवर्ष अन्य वर्षको तुलनामा बलात्कार र हत्याका घटना बढेको प्रहरीको तथ्यांकले नै देखाउँछ। निर्मला पन्त बलात्कार/हत्यादेखि रहस्यमै खुर्सिद हत्याकाण्डसम्म यही एक वर्षबीचमा भए। हामीले केही चर्चित अपराधलाई यहाँ समेटेका छौं। विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१६. संघीयताप्रति अनुदारता झल्काउने ४ परिदृश्य
ओली पहिलोपटक प्रधानमन्त्रीबाट हट्नुभन्दा केही दिनअघि मात्र काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा संघीयतालाई ‘बाख्राको टाउकोमा भैंसीको सिङ’ जस्तो भएको भन्दै त्यो मुलकुले धान्न नसक्ने बताएका थिए।
संघीयता आत्मसात गरेयता ओलीले यसप्रति अरुचि झल्कने धारणा पटक-पटक सार्वजनिक गर्दै आएका छन्। ओलीको ‘को-पाइलट’ बन्न आइपुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनीमाथि यही विषयमा निरन्तर संशय प्रकट गरिरहेकै छन्। सरकारले एक वर्षमा संघीयता कार्यान्वयमा के प्रगति गर्यो या कहाँ चुक्यो? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१७. जनआवाज : सरकार कहाँ हुनुहुन्छ, हामीले देख्या छैन [भिडियो]
अस्थिर राजनीतिले निकास पाउने र देशमा विकास हुने नेपालीको आशालाई वर्तमान सरकारले कति साकार बनाउला? आगामी दिनले बताउला। तर, एक वर्षमा आम सर्वसाधारणले महसुस गर्ने गरी सकारले काम गर्न सकेन। हामीले लिएको 'जनआवाज'मा व्यक्त विचारमा सरकारप्रति गुनासैगुनासा छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।
१८. नेपाल बन्छ, बनाउनैपर्छ प्रधानमन्त्रीज्यू, तर यसरी होइन
मानौं, प्रधानमन्त्रीमा थामिनसक्नुको देश बनाउने हुटहुटी, सीमारहित इमान र निष्ठा पनि छ। तर, यससँगै समानन्तर रुपमा प्रश्न उठ्छ- के हुटुहटीले मात्रै देश बन्छ? देश बनाउने हुटहुटी हुनु अवश्य राम्रो हो। त्यसलाई ‘सेल’ गर्न गरिने दुई/चार थान भाषण पनि अवश्य नराम्रो होइन। तर, यत्ति ‘बुझक्कड’ प्रधानमन्त्रीले बुझेकै हुनुपर्ने हो- केवल भाषण र आश्वासनले मात्रै देश बन्दैन भनेर। कसरी बनाउने नेपाल? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
१९. सरकारको स्वर्णिमकालका आर्थिक सूचक निराशाजनक
सरकारको एकवर्षे यात्रालाई लिएर हामीले विभिन्न अर्थविद्सँग पनि कुरा गरेका छौं। अर्थविद् विश्व पौडेलले सरकारको स्वर्णिमकालको रुपमा रहेको यो समय आर्थिक सूचकका लागि निराशाजनक रहेको उनले बताएका छन्। उनको विचार विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
२०. कोरियाका नेपाली भन्छन्- सरकारमाथि आशाको संकेत हरायो
सरकारप्रति देशवासीको अपेक्षा आफ्नो ठाउँमा छ तर देशबाहिरका नेपालीले कस्तो आशा राखेका छन् त? हामीले प्रवासी नेपालीको भनाइ पनि समेट्ने कोसिस गर्यौं। अपेक्षाअनुरुप काम हुन भने नसकेको प्रतिक्रिया कोरियावासी नेपालीको छ। सरकारका एकवर्षे गतिविधि हेर्दा तत्काल देशले विकासको गति लिने आँकलन गर्न नसकिने उनीहरुले बताएका छन्। विस्तृत रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुस्।
२१. सरकारको एक वर्ष : काम, कुरो र आश्वासनमा बेमेल
पानीजहाजदेखि रेलसम्मका सपना देखाएका प्रधानमन्त्री ओली प्रचारात्मक अभियानमा बढी लागेको टिप्पणी पनि हुने गरेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की लेख्छन्, 'राजधानीका बिजुलीका खम्बामा प्रधानमन्त्रीका फोटो झुन्ड्याइए। राम्रो काम गरेमा सबैले देखिहाल्छन्। तर अति प्रचार मोहले प्रधानमन्त्रीलाई लोभ्यायो।' लेख विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुस्।
२२. सम्पादकीय : आशाका संकेत देखाऊ
सबैलाई थाहा छ, इतिहासदेखि अंशअंशमा हात लागेको समस्याको पोको यो सरकारले निमिट्यान्न पार्न सक्दैन। त्यो अपेक्षा पनि कसैले गरेको छैन। तर, संस्थाहरु बलियो बनाउने र तीप्रति विश्वास बढाउने, पद्धति विकासको सुरुवात गर्ने, लोकतान्त्रिक स्पेसहरूलाई फराकिलो बनाउने तथा संघीयता बलियो बनाउनेजस्ता कामहरु उनले गर्नसक्थे। गर्नुपर्थ्यो। सरकार यी विषयमै अनुदार देखियो। बरु पानीजहाज पहिले ल्याउने कि रेल भन्नेमा रुमलियो, पोलपोलमा 'नयाँ युग’ आएको सूचना दिन व्यस्त भयो। सडकमा धुलो उडिरह्यो, मन्त्रीहरु भाषण उडाइरहे। सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा नेपाल लाइभ सम्पादकीय पढ्न यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।