काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्र नुवाकोटको भ्रमण गरेका छन्।
अमेरिकी दूतावासका अनुसार बिहीबार अमेरिकी सहयोगमा सञ्चालित राहत तथा पुनःस्थापनाका कार्यक्रमको अनुगमन गरिएको हो। भ्रमणका क्रममा टोलीले क्याथोलिक रिलिफ सर्भिसेस र कारितास नेपालको सामुदायिक केन्द्र तथा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को समन्वय केन्द्रको अवलोकन गरेको थियो।
ती संस्थामार्फत प्रभावित समुदायलाई खाद्यान्न, आश्रय र मनोसामाजिक सहयोग उपलब्ध गराउन अमेरिकी सहायता कसरी उपयोग भइरहेको छ भन्नेबारे जानकारी लिएको थियो।
प्रतिनिधिमण्डलले बेपत्ता अमेरिकी नागरिकको खोजीमा खटिएका जिल्ला प्रहरी नेतृत्वसँग पनि भेट गरेको थियो। दूतावासका अनुसार टोलीले खोजी कार्यमा प्रहरीको प्रयासप्रति धन्यवाद दिएको थियो।
भ्रमणका क्रममा नुवाकोट र रसुवा जिल्लालाई पुनः जोड्न सहयोग पुर्याउने गरी हालै जडान गरिएको अमेरिकी निर्मित पुलको समेत अवलोकन गरिएको थियो।
अमेरिकी दूतावासका अनुसार नेपालमा विपद् प्रभावित तथा बेपत्ता व्यक्तिको खोजी र पहिचानसम्बन्धी कामका लागि अमेरिकाले ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रतिबद्धता जनाएको छ। उक्त सहयोगमा आपत्कालीन राहत, विपद् प्रतिकार्यका उपकरण र बेपत्ता अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न आवश्यक फरेन्सिक विशेषज्ञता समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।