काठमाडौं। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ| महाधिवेशनबाट सभापति पदमा विजयी भएका गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन्।
महाधिवेशनबाट थापा ६ हजार ५८४ मतसहित विजयी भएका थिए। त्यस्तै‚ थापासँग प्रतिस्पर्धामा उत्रिएका खड्गीले भने ३७५ मत पाप्त गरेका थिए। पराजित भएपछि खड्कीले शनिबार सामाजिक सञ्जालमार्फत खड्गीले थापासँगको प्रतिस्पर्धालाई मित्रवत् प्रतिस्पर्धाका रूपमा उल्लेख गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ। मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन,’ उनले भनेका छन्।
उनले निर्वाचनको परिणाम जस्तो भए पनि आफूलाई प्राप्त माया, विश्वास र साथ अमूल्य राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनका क्रममा बनेका आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई सधैं सम्मान गर्ने उनको भनाइ छ।
खड्गीले विशेष र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनका भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। छुट्टै महाधिवेशनको बाटोमा रहेका साथीहरूलाई समेत संवाद, सहमति र सम्मानका साथ पार्टी एकताको मूलधारमा समेट्नु अहिलेको प्रमुख आवश्यकता भएको उनले बताएका छन्।
उनले नवनिर्वाचित सभापति थापालाई आफूलाई मत दिने र नदिने सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्न आग्रह गरेका छन्। फरक विचार र धारमा रहेका कसैले पनि पार्टीभित्र आफूलाई पराइ महसुस गर्न नहुने भन्दै उनले सबैले सम्मान र अपनत्व पाउने वातावरण बनाउनुपर्ने बताएका छन्।
खड्गीले गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सके कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। ‘व्यक्तिगत हारजितभन्दा पार्टीको एकता ठूलो हो, पदभन्दा सम्बन्ध ठूलो हो र स्वार्थभन्दा विचार ठूलो हो,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।