काठमाडौं- अस्ट्रेलियाका लागि नेपालकी राजदूत लक्की शेर्पालाई निकास दिन सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत शेर्पालाई निकास दिन आग्रह गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यसबारे जानकारी दिँदै भने, 'शेर्पाले सायद केही दिनमै निकास दिनुहुन्छ।'
छानबिन समितिले प्रतिवेदन बुझाइसकेको र यो विषय चाँडै नै निष्कर्षमा पुग्ने समेत प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए।
सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो। उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियाे।
तर, शेर्पाले आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन्। चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी गर्दै आएकी छिन्।
राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन्।
परराष्ट्रले शेर्पामाथिकाे छानबिन प्रतिवेदन बुझाएको केही समय भइसकेपनि उनीविरुद्ध सरकार कुनै निर्णयमा पुग्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।