काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले भदौ २३ र २४ पछिको राजनीतिक परिस्थितिमा आफूलाई नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न प्रस्ताव आए पनि आफूले लामो समयदेखि झन्डा बोकेको कांग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताए।
‘पार्टीको भ्यालु ठीक छैन भने सच्याउन लाग्ने हो, बदल्न प्रयास गर्ने हो,’ उनले भने, ‘नयाँ पार्टी खोल्न र अध्यक्ष बन्न प्रस्ताव आएका थिए। तर म १४ वर्षदेखि झन्डा बोकेको पार्टी सुधार्न र बदल्न यहीँ अडिग भएर बसेको हुँ।’
थापाले कांग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने र पार्टीभित्रका सबै नेता–कार्यकर्ताको अधिकार समान रहेको बताए। नेतृत्व भने निश्चित प्रक्रियाबाट प्राप्त हुने जिम्मेवारी भएको उनको भनाइ छ।
‘कांग्रेस एउटा परिवार हो। परिवारभित्र निर्णय गर्ने जिम्मेवारी कसले लिने भन्ने मात्रै हो,’ उनले भने, ‘सबैको हक बराबर छ। मेरो र भुइँमा बस्ने कांग्रेसको अधिकार एउटै हो। नेतृत्व भने समय तोकेर पाउने हो।’
पार्टीको सार्वभौम शक्ति तल्लो तहका कार्यकर्ता र शुभेच्छुकसँग रहेको बुझाइलाई व्यवहारमा स्थापित गर्नुपर्ने उनले बताए। पछिल्लो समय सामाजिक सञ्जाल र सूचनाको पहुँचले समाज तीव्र रूपमा परिवर्तन भएकाले कांग्रेसले पनि आफूलाई त्यसअनुसार बदल्नुपर्ने थापाको भनाइ छ। उनले पुराना राजनीतिक दलप्रति वितृष्णा बढ्दै मानिसहरू नयाँ विकल्पतर्फ गइरहेको अवस्थामा कांग्रेसले जनताबीच आफ्नो सान्दर्भिकता र विश्वास पुनः स्थापित गर्नुपर्ने बताए।
‘पुराना पार्टी चाहिँदैन भनेर छाडेर गएको अवस्था छ। अब यहाँबाट फर्केर गएपछि धेरै चुनौती छन्,’ उनले भने, ‘ऐतिहासिक पार्टीलाई जनताबीच सान्दर्भिकताको विश्वास दिलाउनुपर्ने छ। कसरी दिलाउने भन्ने चुनौती यही महाधिवेशनमा आएकाहरूको हो।’
नेपालमा युवा जनसंख्या ठूलो रहेकाले युवाको बदलिँदो सोच र अपेक्षालाई कांग्रेसले सम्बोधन गर्नुपर्ने उनले बताए। युवाहरू अब राजनीतिक दलको परम्परागत शैली पर्खेर बस्ने अवस्थामा नरहेको उनको भनाइ छ।
बन्दसत्रमा अपेक्षाअनुसार छलफल हुन नसकेको स्वीकार गर्दै थापाले प्रतिनिधिहरूलाई आफ्नो राजनीतिक प्रतिवेदन अध्ययन गरेर सुझाव दिन आग्रह गरे। आगामी ८–१० दिनभित्र सुझाव प्राप्त हुने अपेक्षा राख्दै उनले महाधिवेशनपछि कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने बताए।
‘मेरो २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा जाने हो, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने हो,’ उनले भने, ‘यो कोठाभन्दा बाहिर जानुपर्ने छ।’ थापाले महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पार्टीमा फर्किन आग्रह गर्दै अदालत जाने क्रम रोक्नसमेत आग्रह गरे। पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको सहयोग रहेको उल्लेख गर्दै उनले अब पार्टीलाई विवादमा अल्झाइराख्न नहुने बताए। ‘फर्कनुहोस्, यो अदालत जाने काम बन्द गर्नुहोस्। यो समयको बर्बादी मात्रै हो,’ उनले भने।
महाधिवेशन आयोजना गर्ने क्रममा केही कमजोरी भएको उनले स्वीकार गरे। विशेषगरी सदस्यतासम्बन्धी निर्णय तथा अदालतका फैसला कार्यान्वयन गर्दा केही क्षेत्रमा समस्या आएको भन्दै अन्याय भएको भए त्यसको समाधान गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।