काठमाडौं– सुनसरी सोनापुरका फिदा हुसेनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपालगन्जबाट पक्राउ परेका एक अभियुक्तको साथबाट प्रहरीले हुसेनलाई गोली हानिएको पेस्तोलसमेत बरामद गरको छ।
लामो रेकीपछि प्रहरीले हुसेन हत्यामा संलग्नमध्ये एक जनालाई पक्राउ गरेको हो। पक्राउ गरिएका अभियुक्तको नाम प्रहरीले खुलाएको छैन। स्रोतका अनुसार उनलाई सुनसरी पुर्याइएको छ।
उनको साथबाट प्रहरीले पेस्तोल र गोलीसमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्ति नेपाली मुलकै रहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
हुसेनको हत्या आरोपमा अहिले एक जना मात्रै पक्राउ परे पनि ५/६ जनाको समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। उनीहरु सबैको पहिचान भइसकेको र पक्राउ पर्नमात्रै बाँकी रहेको प्रहरीका एक अधिकारीले बताए।
कसरी मारिए हुसेन?
गत मंसिर ५ गते बिहान साढे ६ बजेतिर हुसेन श्रीमतीसँगै मर्निङ वाकमा निस्किएका थिए। फर्किएर श्रीमती घर लागिन् भने हुसने आफू कार्यरत बाबा इँटाभट्टातिर गए।
त्यहीबेला दुहबी नगरपालिकास्थित छाताबेली भन्ने स्थानमा अचानक उनीमाथि गोली प्रहार भएको थियो। लगत्तै भाइ ज्याबुल हुसनेले उपचारको लागि अस्पताल पुर्याए तर बचाउन सकेनन्।
मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए। प्रहरी स्रोतका अनुसार हत्याराहरु घटनास्थलबाट उत्तरपूर्व हुँदै भागेका थिए। त्यसबेला प्रहरीले घटना नेपाली मुलकै व्यक्तिबाट भएको हुन सक्ने आँकलन गरेको थियो। यद्यपि यस हत्याकाण्डमा भारतीय मुलका केही व्यक्तिको पनि हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
उनको हत्यामा दुई-तीन फ्याक्टरले काम गरेको प्रहरीले जनाएको छ।
उनी नेपाली कांग्रेका स्थानीय नेता हुन्। राजनीतिक रिसिइबी साध्न उनको हत्या गरेको हुन सक्ने प्रहरी आँकलन छ। हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं हुन् भने सुनसरी क्षेत्र नं ३ का नेपाली कांग्रेसका सभापति मेहेदी हुसेनका भाइ समेत हुन्।
बाबा इँटा उद्योगका सुपरभाइजर समेत रहेका हुसेनको हत्या हुनुमा आर्थिक कारण पनि हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। ‘हामी अहिले नै यही कारणले हत्या गरेको हो भन्न सक्ने अवस्थामा छैनौं,’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘भर्खर एक जना पक्राउ परेको छ। उसको बयानबाट केही कारण खुल्ला।’
हुसेनको विभिन्न महिलासँग अनैतिक सम्बन्ध रहेको स्थानीयहरु चर्चा गर्थे। त्यसकारण उनको यी तीन कारणमध्ये जुनसुकै कारणबाट पनि हत्या हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।
आफू कार्यरत इँटाभट्टाअगाडि उनको हत्या भएलगत्तै दुहबी बजार बन्द भएको थियो। हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै आन्दोलनसमेत भएको थियो।
सरकार र पीडित पक्षबीच उनलाई सहिद घोषणा गर्ने सहमति भएको थियो। परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति समेत पाइसकेका छन्।
सरकारसँग भएको सहमति अनुसार उनका कान्छा छोराले विद्युत प्राधिकरणमा जागिर पनि खाइसकेका छन्।
भदौ ४ गते सुनसरीकै भुटाहमा मुस्लिम अगुवा खुर्सिद आलमको हत्या भएपछि सोही घटनमा जोडेर हुसेनलाई पनि हेरिएको थियो। दुवै मुस्लिम समुदायका अगुवा हुनु र दुवैलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हान्नुले हत्याको आशंका भारतीय गुप्तचर निकाय ‘र’सँग जोडिएर हेरिएको थियो। तर अनुसन्धानमा संलग्न प्रहरी खुर्सिद र हुसेन हत्या एकै समूहबाट नभएको निष्कर्षमा पुगिसकेको छ।
खुर्सिद हत्यामा भारतीयको हात रहेको समाचार बाहिर आइसकेका छन्। तर, हुसेन हत्याका नाइके नेपाली नै रहेको प्रहरीले जनाएको छ।
उता, प्रहरीले खुर्सिद हत्याको पनि सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान प्रगतिउन्मुख रहेको प्रहरीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।