काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले ‘गल्ति’नसच्याए आज बस्ने प्रतिनिधिसभाको बैठक पनि सञ्चालन हुन नदिने स्पष्ट पारेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको सम्वोधन लगत्तै प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाएको भन्दै बैठक अवरुद्ध भएको थियो। सभामुखसँग कार्य व्यवस्था समितिमा पूर्व निर्धारित कार्यतालिकाअनुसार प्रमुख प्रतिपक्ष दलका पाँच सदस्यलाई बोल्न नदिइएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेसले संघीय संसदको ‘प्रतिनिधिसभा नियमावली’को २१९ अन्तर्गत प्रश्न सोध्न दिनुपर्ने विषयमा विवाद भएपछि होहल्ला बीचमै सभामुख कृष्णबहादुर महराले संसदमा दुई विधेयक पेस गर्न अनुमति दिएका थिए।
प्रधानमन्त्रीले समयसामायिक विषयमा उठेका प्रश्नहरुमा जवाफ दिए लगत्तै नेपाली कांग्रेसका नेताहरुले उठेर प्रश्न-उत्तरका लागि समय मागेका थिए। कांग्रेससँगै स्वतन्त्र सांसद प्रेम सुवाल र राजपाकी सांसद सरिता गिरीसमेत उठकी थिइन्।
संसद नियमावलीको परिच्छेद ८ र ९ अनुसार प्रधानमन्त्रीकाे सम्बाेधन प्रश्न–उत्तर कार्यक्रमअन्तर्गत नभएकाे भन्दै सभामुखले सांसदहरुलाई बस्न आग्रह गरेपछि विवाद सुरु भएको हो। प्रधानमन्त्रीले सरकारको काम र कर्तव्यको विषयमा जानकारीमुलक विषयमा आफ्नो सम्वोधन गरेको भन्दै महराले प्रश्न गर्न नसक्ने बताएका थिए। प्रश्न–उत्तरको प्रक्रिया अलग्गै भएकोले यसमा अवरोध नर्गन सभामुख महराले आग्रह गरेपनि कांग्रेस सांसदहरुले बस्न मानेका थिएनन्।
बुधबारको बैठकको लागि १२ बजे बस्ने कार्य व्यवस्था समितिको बैठकमा सभामुख महराको व्यवहारले बैठक चल्ने/नचल्ने निश्चित हुने कांग्रेस केन्द्रिय सदस्य मीन विश्वकर्माले जानकारी गराए। कार्य व्यवस्था समितिको बैठकमा सभामुखले प्रधानमन्त्रीलाई प्रश्न राख्ने प्रतिबद्धता जनाए मात्रै बैठक सञ्चालन गर्न दिने उनले स्पष्ट पारे।
प्रधानमन्त्री सदनमा उपस्थित हुन नसक्ने अवस्थामा सभामुखले आइतबारको घटनाप्रति आत्मआलोचना गर्नुपर्ने कांग्रेसको माग छ।
प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।