काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि सरकारले चालू आर्थिक वर्षदेखि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गर्यो। निर्णयअनुसार विदेशबाट फर्किएका युवाका लागि ऋण लिनका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्रक्रिया अघि बढाएको छ।
बोर्डले सूचना जारी गरी आवेदन समेत माग गरेको छ। तर आवेदन दिने जति सबैले ऋण प्राप्त नगर्ने वैदेशिक रोजगार विभागले बताएको छ। यसरी एकातिर सरकारले ऋणका लागि आवेदन माग गर्ने र आवेदन दिने सबैले ऋण नपाउने विरोधाभाषपूर्ण कुरा गरेकाले धेरै युवाहरु भ्रममा समेत परेको बताएका छन्।
कर्जाका लागि आवेदन दिन आएका चितवनका जीवन क्षेत्री ऋण पाउनेमा कुरा विश्वस्त नभएको बताउँछन्। ऋण लिने प्रक्रियाका बारेमा प्रष्ट नभएका कारण अलमलमा परेको उनले बताए।
'सरकारले विदेशबाट फर्किएका तथा सीप सिकेका श्रमिकलाई मात्र ऋण दिने भनेर प्रष्ट खुलाउनुपर्छ। केही खुलाएको छैन। ऋण पाउने आशामा सबैले आवेदन दिइरहेका छन्,’ क्षेत्रीले भने। उनी साउदीको गाई फार्ममा ६ वर्ष काम गरेर फर्किएका हुन्।
काभ्रेकी लिला खातुनले पनि ऋणका लागि आवेदन दिएकी छन्। खातुन इजरायलमा ३ वर्ष कृषि फार्ममा काम गरेर नेपाल फर्किएकी हुन्। नेपालमा इजरायली प्रविधिमा कृषि र्फाम चलाउन सरकारले दिने सहुलियत ऋण लिन खोजेको उनको भनाई छ। तर, ऋण कसरी पाउन हो, द्विविधामा परेको खातुन बताउँछिन्।
ललिपुरका श्यामकुमार घले मलेसियामा ६ वर्ष पशुपालनको काम गरेर स्वदेश फर्किएका युवा हुन्। नेपालमा ऋण लिएर मलेसियामा सिकेको सीप अनुसार ब्राखापालन गर्न खोजेको बताउँछन्। तर, कस्तो विदेशमा सीप सिकेका कामदारलाई ऋण दिने नखुलाइएका कारण ऋण पाउनमा अशंका लागेको उनको भनाइ छ।
सहुलियत ऋणका लागि आवेदन दिएका तथा दिने तयारीमा रहेका युवाहरु ऋण कसरी पाइन्छ भन्नेमा स्पष्ट छैनन्। ऋणका लागि झन्झटिलो प्रक्रिया हुँदा ऋण लिन समस्या परेको देखिन्छ।
सरकारले युवालाई स्वरोजगार बनाउने उद्देश्यले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार बैंकले ऋण लगानी गर्न आनाकानी गरिरहेका छन्। तर, अर्थ मन्त्रालयले भने कर्जामा ऋण लगानी नगर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ।
कार्यविधिमा बैंकले व्यवसायिक, कृषि तथा पशुपंक्षी पालनका लागि ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा बढीमा ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख रुपैयाँ कर्जाका रुपमा व्यवस्था छ। यसैगरी, महिला उद्यमी कर्जामा १५ लाख, दलित समुदाय व्यवसाय कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाका लागि ३ लाख रुपैयाँ सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
कार्यविधिमा वैदेशिक रोजगारीबाट फर्किएका युवा भन्नाले ‘श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम, पेसा, व्यवसाय, क्षेत्रमा काम गरी फर्केको ३ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने’ उल्लेख छ।
विदेशबाट फर्किएका युवाका लागि सरकारले दिने सहुलियत कर्जाको अवधि ५ वर्ष तोकिएको छ। यस कार्यक्रमअन्तर्गत ऋण लिँदा बैंकले लिने ब्याजमा सरकारले ५ प्रतिशत व्यहोनुपर्ने जनाइएको छ।
हाल बोर्डमा आवेदन दिएका युवाले वाणिज्य बैंकमा सम्पर्क गरेर ऋणका बारेमा जानकारी लिन सक्नेछन्। बोर्डले यो प्रक्रियामा सहजीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाउने गरी फारम संकलन गरिरहेको छ। ऋण लिन चाहने युवाले फारम भर्दा कर्जा लगानी हुने कामका विषयमा भने अनिवार्य खुलाउनुपर्ने सर्त छ।

वैदेशिक रोजगारीबाट फर्किएका ४ हजारभन्दा बढी युवाले सहुलियतपूर्ण ऋणका लागि आवेदन गरेको बोर्डले जानकारी दिएको छ। धेरै युवाले सहुलियतपूर्ण ऋणका लागि आवेदन दिएपनि चालू आर्थिक वर्षमा करीब ७ सयदेखि १ हजार जना युवाले मात्र सहुलियत ऋण पाउन सक्ने बोर्डले जनाएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार सहुलियत ऋणका लागि आवेदन भर्ने सबै युवाले ऋण नपाउने स्पष्ट पारे। ‘कार्यक्रम पहिलो पटक कार्यान्वयनको क्रममा रहेकोले यससम्बन्धी धेरै व्यवस्था गर्दै लैजानुपर्नेछ। त्यसकारण पनि यो वर्ष सीमितका लागि मात्रै ऋण उपलब्ध गराइनेछ।’
१० प्रतिशत ब्याज लिन्छन् बैंक
सहुलियपूर्ण ऋण दिँदा आधार दरमा २ प्रतिशतसम्म थप गरी ब्याज तोक्न पाइने व्यवस्था सरकारले गरेको छ। विभिन्न वाणिज्य बैंकको आधार दर फरक पर्न सक्छ अहिले प्रायजसो वाणिज्य बैंकको आधार दर ६ देखि १० प्रतिशतसम्म रहेको छ। यसरी वाणिज्य बैंकअनुसार ती संस्थाले प्रवाह गर्ने ऋणको ब्याजदर पनि फरक पर्न सक्छ।
बैंकले तोकेको ब्याजदरमध्ये पनि ५ प्रतिशत ब्याज सरकारले तिरिदिन्छ। यसका आधारमा ऋण लिने युवाले तिर्नुपर्ने ब्याज कम्तीमा ३ प्रतिशतको हाराहारीमा हुन आउँछ। कति ऋण दिने, कति समयभित्र तिरिसक्नु पर्ने भन्ने कुरा बैंकले नै निर्धारण गर्न पाउँछन्। ऋण माग्नेले गर्न खोजेको व्यवसाय हेरी कर्जा प्रवाह गर्न बैंकहरुलाई स्वायत्तता दिइएको छ।
सहुलियत ऋण लिन चाहने व्यक्तिले घर वा जग्गाजमिनलगायतका सम्पत्ति धितोमा राख्नु पर्दैन। वैदेशिक रोजगारीबाट फर्केका युवाको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न समग्र परियोजना नै धितोमा राखेर बैंक वा वित्तीय संस्थाले ऋण जानकारी दिइएको छ।
के-के छन् सर्त?
ऋण लिन चाहने वैदेशिक रोजगारीबाट फर्किएका युवाले कुनै पनि देशको स्थायी बसोबास जस्तैः पिआर, ग्रिनकार्ड जस्ता कुरा लिएको हुनुहुँदैन। उद्यम सञ्चालन तथा ऋण उपयोग कसरी गर्ने भन्ने संक्षिप्त प्रस्ताव तयार पारेर बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
सहुलियतपूर्ण कर्जा लिन चाहनेलाई आवेदन फारम भर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचना जारी गरिसकेको छ। बोर्डमार्फत प्रक्रिया अगाडि बढाउन चाहनेले पुस मसान्तभित्रमा निवेदन दिन सक्ने जानकारी दिइएको छ।
आवश्यक कागजात:
-वैदेशिक रोजगारीमा जाँदाको राहदानी र भिसाको प्रतिलिपि
-श्रम स्वीकृतिको प्रतिलिपि
-निवेदन दिने व्यक्ति कम्तीमा ६ महिना सम्बन्धित तालिम, पेसा, व्यवसाय वा क्षेत्रमा काम गरेको कागजात
-कुनैपनि मुलुक पिआर, ग्रिनकार्डजस्ता स्थायी बसोबासका अनुमति पत्र नलिएको स्वघोषित लिखित पत्र
-आफूले गर्न चाहेको व्यवसायको संक्षिप्त प्रस्ताव।
यो पनि पढ्नुहोस्:
युवा स्वरोजगार : सहुलियत कर्जा दिन बैंकको आनकानी
युवा लक्षित उद्यमका लागि ३ लाखदेखि ५ करोडसम्म सहुलियत ऋण पाइने
विदेशमा काम गरी फर्किएकालाई सरकारले दिँदैछ ऋण, आवेदन खुल्ला
भूकम्पपीडित : अब दुई प्रतिशत ब्याजदरमा ऋण नपाउने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।