काठमाडौं– दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको विमान ककपिटभित्र पाइलटहरूबीच भएको हिंसात्मक झडपपछि ठूलो संकटमा परेको छ। उडानकै क्रममा विमानको उचाइ केही समयमै करिब १४ हजार फिटले घटेपछि आपत्कालीन संकेत पठाइएको थियो। विमान अन्ततः साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ।
फ्लाइदुबईको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै थियो। घटनाका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको र एक पाइलट घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यात्रु तथा चालक दलका सदस्यले ककपिटबाट चिच्याएको आवाज र रगत देखिएको बताएका छन्।
घटनापछि विमानले पहिले ‘७७००’ आपत्कालीन कोड र त्यसपछि ‘७५००’ कोड प्रसारण गरेको थियो। ७५०० कोड विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउन प्रयोग हुन्छ। त्यसपछि इजरायलले निगरानीका लागि लडाकु विमानसमेत परिचालन गरेको रिपोर्ट छ।
फ्लाइट ट्र्याकिङ विवरणअनुसार विमान करिब ३३–३४ हजार फिटबाट तीव्र गतिमा १७ हजार फिट आसपासमा झरेको थियो। त्यसपछि विमानले आफ्नो गन्तव्य परिवर्तन गरी साउदी अरबको तबुकतर्फ मोडिएर आपत्कालीन अवतरण गरेको हो।
घटनामा यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ। दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको र घटनामा संलग्न पाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रिपोर्ट छ।
घटनाको कारण र ककपिटभित्र वास्तवमा के भएको थियो भन्नेबारे अनुसन्धान जारी छ। केही इजरायली अधिकारीले घटनालाई विमान दुर्घटनातर्फ धकेल्ने प्रयाससँग जोडेर अनुसन्धान भइरहेको बताएका छन् भने प्रारम्भिक रिपोर्टहरूमा पाइलटहरूबीचको झडपलाई घटनाको मुख्य कारण भनिएको छ। त्यसैले चक्कु प्रहार, विमान नियन्त्रण गुमेको अवस्था र आक्रमणको उद्देश्यबारे अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।