काठमाडौं– एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वमाथि प्रश्न नगर्न निर्देशन जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमार्फत् पार्टीका कुनै पनि विषयमा सार्वजनिक रुपमा प्रश्न, आलोचना गरे कारबाहीको विषय बनाउने उल्लेख छ।
हालसालै सकिएको तेस्रो केन्द्रीय कमिटि बैठकपछि ओलीले पार्टीलाई अनुशासनको दायरामा राख्ने भन्दै फरक मत र विचार राख्न नपाउने गरी अपानी जारी गरेका हुन्। उनले सम्पन्न भएको तेस्रो केन्द्रीय कमिटिको बैठकलाई ‘कटअफ डेट’ भन्दै यसअघि भएका आलोचना विरोधलाई माथि दिएको उल्लेख गरेका छन्।
अपानीमा भनिएको छ, ‘पार्टीमा हुर्किदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकतावद्ध र सुदृढ पार्टी निर्माण गर्न निम्नानुसारको निर्णय गरेको छ। पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्ध सार्वजनिक रुपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृतिमा पूर्णरुपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनस्र्थापित गर्ने । आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने ।’
जेनजी आन्दोलन र फागुनको चुनावपछि ओलीको विकल्पमाथि एमालेमा चर्को बहस सुरु भएको थियो।
पार्टी पुनःगठन कार्यदलले सातै प्रदेशमा पुगेर गरेको छलफल र तयार पारेको प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउनु पर्ने सुझाव दिएका थिए। तर ओलीले त्यसलाई बैठकमा पेश नै नगरी टारेका थिए। आफूमाथि पार्टीको तल्लो तहदेखि नै बहुसंख्य नेता कार्यकर्ता उभिदै गएपछि ओलीले त्यसलाई रोक्ने अपानीमार्फत निर्देशन जारी गरेका हुन्।
‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्धमा सार्वजनिक रुपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने, अपानीमा भनिएको छ।
यस्ता क्रियाकलाप गरेको पाइएमा कारवाहीको विषय बनाउने र कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।