काठमाडौं- नक्कली बीमालेख जारी गरेर ठगी गरेको आरोपमा प्रहरीले एक बीमा कम्पनीका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली बीमा गरेर ठगी गर्ने प्राइम लाइफ कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा जानेले अनिवार्य रूपमा म्यादी जीवन बीमा गर्नुपर्ने प्रावधान छ। सोहीअनुसार गोकर्णप्रसाद बिडारीले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमार्फत् म्यादी जीवन बीमा गरे। कामदार भिसामा उनी मलेसिया गए। गत वर्ष घर बिदामा उनी स्वदेश आए। बिदामा स्वदेश फर्किका बिडारीको मृत्यु भयो। श्रम अवधि बाँकी नै रहेका कारण उनले बीमा बापतको रकम पाउने भए।
बीमा बापतको रकम दाबी गर्दै प्राइम लाइफको कार्यालय पुगेको बिडारी परिवारले रकम पाएन। कारण थियो, बिडारीको म्यादी जीवन बीमा गरेको रेकर्ड प्राइम लाइफमा कतै पनि भेटिएन।
त्यसपछि बिडारी परिवार कानुनी कारबाही खोज्दै प्रहरीमा पुगे। महानगरीय प्रहरी वृत कालिमाटीमा गत वर्षको चैत २६ गते मुद्दा दर्ता गरियो। बिडारीको बीमा गराउने प्राइमकै कर्मचारी प्रकाश रेग्मीलाई प्रहरीले पक्राउ गर्यो। रेग्मीले नक्कली बीमा गराएर पैसा आफैंले असुल्ने तर प्राइमको रेकर्डमा नचढाउने गरेको रहस्य खुल्यो।
काठमाडौं जिल्ला अदालतको गत बैसाख २३ गतेको निर्णयअनुसार रेग्मी १ लाख रुपैयाँ धरौटीमा रिहा भए। पीडित परिवारले बीमा बापतको रकम फिर्ता पाए। कालिमाटी प्रहरीले अनुसन्धानको फाइल बन्द गर्यो।
कालिमाटी प्रहरीले अनुसन्धानको फाइल बन्द गरेपनि यो घटनालाई सिआइबीले सुक्ष्म रूपमा हेरिरहेको थियो। प्रहरीले रेग्मीको 'नेक्सस' केलाउन थाल्यो। ‘यसरी नक्कली बीमा गरेको खुलेपछि यसको नेक्सस लामै होला भनेर हामीले अनुसन्धान अघि बढाएका थियौं,’ सिआइबीका एक अधिकारीले भने, 'अन्ततः सफलता हात पर्यो।’
यो घटनामा संलग्न भएको आरोपमा सिआइबीले विभिन्न मितिमा प्राइम लाइफ कम्पनीका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-२, धौखोलाका ३२ वर्षीय प्रकाश रेग्मी, सोही नगरपालिका-३ का २६ वर्षीय प्राइम लाइफका जुनियर स्टाफ ध्रुव रेग्मी, उदयपुरको त्रियुगा नगरपालिका-८ घर भई हाल सोल्टीमोड बस्ने २६ वर्षीय भोला पोखरेल थिए। यसैगरी भक्तपुरको ठिमी नगरपालिका-९ का ३० वर्षीय सुदीप खड्का, ललितपुरको गोदावरी-१३ का २९ वर्षीय सञ्जय केसी र काभ्रेको नमोबुद्ध नगरपालिका-८ का ३२ वर्षीय सिंगबहादुर तामाङ छन्।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सिआइबीले विभिन्न मितिमा पक्राउ गरेको हो। पक्राउ परेका मध्ये प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी पुर्पक्षका लागि कारागार चलान भएका छन्। सिंगबहादुर तामाङलाई २ लाख, ध्रुव रेग्मीलाई २ लाख २५ हजार र भोला पोखरेललाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो। यीमध्ये भोला पोखरेल धरौटी रकम तिरेर रिहा भएका छन् भने तामाङ र रेग्मी धरौटी तिर्न नसकेकाले कारागार चलान भएका हुन्।
रेग्मी भन्छन्- ६ लाखको नक्कली बीमा गरें
नक्कली बीमा गर्ने मुख्य नाइके हुन् प्रकाश रेग्मी। प्राइम लाइफ इन्स्योरेन्समा रेग्मीको एजेन्ट कोड ५०२/२०९ र २६/२०४६९ हो। यिनै कोडमार्फत उनले बीमा गराउँदै आएका थिए। रेग्मीकै सेटिङमा म्यानपावर कम्पनीका श्रम प्रतिनिधिदेखि प्राइम लाइफका कर्मचारीले नक्कली बीमा गराउने गरेको सिआइबीका एसपी उमा चतुर्वेदीले बताए।
रेग्मीले प्राइम लाइफमार्फत ५ सय ७४ जनाको नक्कली बीमा गरेको सूचना पाएपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो। उनले प्राइम लाइफबाटै जारी भएका नक्कली बीमालेख दिई ठगी गरेका थिए। उनले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट प्रतिव्यक्ति ४ हजार रुपैयाँ लिएर नक्कली बीमा गराउँदै आएको अनुसन्धानबाट खुलेको छ।
रेग्मीलाई पक्राउ गरेपछि नक्कली बीमा गराउने खेलमा म्यानपावर कम्पनीका कर्मचारीसमेत संलग्न भएको पाइएको हो। वर्ल्डवेज मेनपावर कम्पनीका श्रम प्रतिनिधि सिंगबहादुर तामाङसँग मिलेर उनले ठगी गरेका हुन्। वर्ल्डवेजबाट विदेश गएका ७ सय ९ जनाभन्दा बढी व्यक्तिलाई उनीहरूले नक्कली बीमा गरेर पठाएको पाइएको छ।
त्यसैगरी, सुवास ह्युमन रिर्सोस प्राइभेट लिमिटेडबाट वैदेशिक रोजगारमा विदेश गएका ४ सय ३४ जना व्यक्तिको पनि नक्कली बीमा गरेको अनुसन्धानबाट खुल्न आएको छ।
लामो समयदेखि विदेश जाने कामदारको नक्कली बीमा गर्दै आएको यो समूहले ६ लाख भन्दा बढी कामदारको नक्कली बीमा गरेको स्वीकार गरेको सिआइबीले जानकारी दिएको छ। यसरी एक व्यक्तिबाट ४ हजार रुपैयाँका दरले उनीहरूले लाखौं रुपैयाँ ठगी गर्दै आएको खुल्न आएको हो।
वैदेशिक रोगजारीमा गएका कामदारको मृत्यु भएमा वा बिरामी भएको अवस्थामा बीमा कम्पनीले रकम उपलब्ध गराउँदै आएका छन्। नक्कली बीमा गरेर पठाएका व्यक्तिको मृत्यु भएको अवस्थामा उनीहरुले यो सुविधा पाउदैनन्।
२०७३ देखि बीमा रजिस्ट्रेसन बिना श्रम स्वीकृति नदिने प्रावधान आएपछि भने ठगी हुने संभावना कम भएको छ। तर यो व्यवस्था हुनुअघि नै उनीहरूले लाखौं व्यक्तिको नक्कली बीमालेख जारी गरेको अनुसन्धानबाट खुल्न आएको छ।
सुवास ह्युमन रिर्सोसबाट प्राइम लाइफकाे खातामा जम्मा गराइएकाे रकमकाे स्लिप:

नक्कली बिमा गराइएका केही पीडितहरुकाे नामावली:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।