काठमाडौं – जिल्लाको मलंगवा नगरपालिकामा कार्यरत एक इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ परेका छन् ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुसबापत लिएको १ लाख रुपैयाँसहित रङगेहात पक्राउ गरेको हो ।
अख्तियारका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख-हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा अख्तियारको टोलीले उनीहरूलाई असोज २० गते मंगलबार राति मलंगवा नगरपालिकाबाट १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ गरेको हो ।
अख्तियारले नियन्त्रणमा लिएका दुवै जनासँग स्रोत नखुलेको थप ३३ हजार ७ सय ५ रुपैयाँ समेत बरामद भएको जनाएको छ ।
बुधबार विशेष अदालतको आदेशबाट म्याद थप गरी उनीहरूविरुद्ध घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता न्यौपानेले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।