काठमाडौं– सरकारले झापाको चन्द्रगढी विमानस्थल विकास तथा स्तरोन्नतिका लागि ११ विघा ८ कठ्ठा १६ धुर जग्गा अधिग्रहण गर्ने भएको छ।
झापा जिल्ला प्रसाशन कार्यालयले विमानस्थलको पूर्व भद्रपुर–धुलाबारी सडक, पश्चिममा विमानस्थलको तारबार, उत्तर तथा दक्षिणमा विमानस्थलको नयाँ तारबार चारकिल्ला भित्र रहेको जग्गा अधिग्रहण गर्नका लागि मुआब्जा दर तोकेको हो।
जिल्ला प्रशासन कार्यालय झापा र विमानस्थल कार्यालयलले स्थानीय जनप्रतिनिधिसहित सरोकारवालासँगको छलफलपछि मुआब्जा दरसमेत तोकेको छ।
जसअन्तर्गत भद्रपुर–धुलाबारी सडकसँग जोडिएको जग्गाको प्रतिधुर १ लाख १० हजार, स्वर्ण महोत्सव मार्गसँग जोडिएको पूर्वतर्फका जग्गाको प्रतिधुर ७० हजार रुपैयाँ र स्वर्ण महोत्सव मार्गसँग जोडिएको पश्चिम तर्फको जगगाको प्रतिधुर ५५ हजार रुपैयाँ मुआब्जा तोकिएको छ।
यसैगरी फाइल नक्सामा बाटो भएको तर, सो बाटोको लगत कट्टा नभएका जग्गाको प्रतिधुर ४५ हजार रुपैयाँ र माथि उल्लेख गरिएका क्षेत्रबाहेकका जग्गाको हकमा भने प्रतिधुर ३५ हजार रुपैयाँ मुआब्जा रकम तोकिएको छ।
प्राधिकरणले जग्गाको मुआब्जा रकम उपलब्ध गराउँदा बैंक खातामा ‘अकाउन्ट पे’ चेकमा मात्रै भुक्तानी गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।