काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि भन्दै बिवाइडीसँग खरिद गरेको गुणस्तरहीन पाँच वटा विद्युतीय बस स्वीकार नगर्ने भएको छ।
सम्झौतामा उल्लेख भएको कुनै पनि मापदण्ड नमिलेको विद्युतीय बस फिर्ता गर्ने मन्त्रालयले निर्णय गरेको हो।
चिनियाँ विद्युतीय गाडी उत्पादन तथा बिक्रेता कम्पनी बिवाइडी र नेपालका एजेन्ट सांग्रिला होटल तथा साइमेक्स कम्पनीका मालिक प्रसिद्ध पाण्डेलाई सम्झौतामा उल्लेख भए अनुसारको गाडी नभएको भन्दै फिर्ता लैजान निर्देशन दिएको मन्त्रालयका एक सह–सचिवले जानकारी दिए।
मन्त्रालयले गुणस्तहीन विद्युतीय बसको विषयमा बिहीबार मात्रै बिवाइडी प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा सहभागी मन्त्रालयका प्रतिनिधिले गुणस्तहीन बस फिर्ता लैजान निर्देशन दिएका हुन्।
नेपाल आएका पाँच वटा विद्युतीय बस खरिद सम्झौताविपरीत भएको ठहर गर्दै बिवाइडी ती बस फिर्ता लैजान र नयाँ गाडी उपलब्ध गराउन सहमत भएको छ।
यी गुणस्तरहीन पाँच बस फिर्ता गर्दै मापदण्डका गाडी नआएसम्म मन्त्रालयले रकम पनि भुक्तानी नगर्ने भएको छ।
खरिद सम्झौतामा उल्लेख भएअनुसार चीनमा उत्पादन भएको विद्युतीय बस उपलब्ध नगराएसम्म रकम भुक्तानी नगर्ने मन्त्रालयले निर्णय गरेको हो।
बिवाइडीका लागि नेपाल एजेन्ट पाण्डेले भने सम्झौतामा चीनमा उत्पादन भएको गाडी हुनुपर्ने भए पनि भारतीय बजारमा उत्पादन भएका गुणस्तहीन बस लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका थिए।
बस नेपाल आएपछि गुणस्तहीन रहेको भन्दै आवाज उठ्न थालेपछि मन्त्रालयले अनुसन्धान सुरु गरेको थियो। मन्त्रालयले अनुसन्धानपछि बसमा १७ वटा कमजोरी रहेको ठहर गरेको थियो।
यो पनि- पाण्डेको मिलेमतोमा लुम्बिनी विकास कोषलाई गुणस्तरहीन विद्युतीय गाडी, यस्ता छन् १७ कमजोरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।