काठमाडौं- विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रदेशलाई मात्रै कार्यक्षेत्र बनाएर काम गर्न पाउने भएका छन्।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गर्दै पहिलो पटक बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पुँजीको व्यवस्था गरिएको हो।
उक्त व्यवस्था अनुसार राष्ट्रिय स्तरका वाणिज्य बैंकका लागि भने राष्ट्र बैंकले न्यूनतम ८ अर्ब चुक्ता पुँजी तोकेको छ। तर, वाणिज्य बैंकले भने प्रादेशिक स्तरमा काम गर्न पाउनेछैनन्।
यता १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी भएका विकास बैंकले भने प्रादेशिक स्तरमा काम गर्न पाउने भएका छन्। राष्ट्रिय स्तरमा काम गर्न भने विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्छ।
त्यसैगरी, ५० करोड रुपैयाँ चुक्ता पुँजी राखेर फाइनान्स कम्पनीले प्रदेश स्तरलाई मात्रै आफ्नो कार्यक्षेत्र बनाएर कारोबार गर्न पाउने भएका छन्। राष्ट्रियस्तरको फाइनान्स कम्पनीका लागि न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्छ। तर, प्रदेशलाई कार्यक्षेत्र बनाएर कारोबार गर्ने विकास बैंक तथा फाइनान्स कम्पनीले सोही प्रदेशमा मात्रै कारोबार गर्न पाउनेछन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रिय स्तर, प्रदेश स्तर र जिल्ला स्तरमा वर्गीकरण गरेको हो।
प्रदेश स्तरको लागि तोकिएको न्यूनतम चुक्ता पुँजी नभएका विकास बैंक तथा फाइनान्स कम्पनीहरुले हाल जति जिल्लामा कारोबार गर्दै आएका जिल्लामा मात्रै कारोबार गर्न पाउनेछन्। साथै प्रादेशिक वा राष्ट्रियस्तरमा स्तरोन्नति हुन चाहने संस्थाहरुले मर्जरको विधिलाई प्राथमिकतामा राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।