काठमाडौं– सरकारले सञ्चालनको इजाजत पत्र लिएका म्यानपावर कम्पनीका शाखा कार्यालयहरूको अनुगमन गर्ने भएको छ।
गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न म्यानपावर कम्पनीका देशभर रहेका शाखा कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको हो।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न ६ वटा निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरुः
१) वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने।
२) कामदार माग भएअनुसारको विज्ञापन गरे÷नगरेको नियमित अनुगमन गरी सत्यतथ्य बुझ्ने।
३) तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर)का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने।
४) वैदेशिक रोजगारीका लागि व्यक्तिगत रूपमा विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको निर्णय प्राप्त भएअनुसार वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने।
५) इजाजत पत्रवाला म्यानपावर कम्पनीका देशभर रहेका शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने।
६) वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ का निश्चित दफा र नियममा उल्लेख भएका व्यवस्थाहरूको पालना भए/नभएको अनुगमन गर्ने।
बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८१ बमोजिम उल्लेखित अधिकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरूलाई प्रत्यायोजन गर्न र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न पनि स्वीकृति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।