इस्लामाबाद– पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ।
भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो।
सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्बन्धी एउटा मुद्दामा जर्दारी गरेको अभियाेगमा उनकी बहिनी फर्याल तालपुरसहित १ सय ७२ जनालाई अनुसन्धान गरिएको छ।
उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोपसमेत लागेको समाचारमा जनाइएको छ।
'अनुसन्धानको सूचीमा रहेका १सय ७२ जना सबैलाई देशबाहिर जान नपाउने गरी प्रतिबन्ध लगाइएको छ,' सूचना मन्त्री चौधरीले भने।
पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए। उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष समेत हुन्।
जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जिर भुट्टोको हत्या भएको ११औं वार्षिकी मनाउँदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो।
उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी र्यालीमा सहभागी भएकाे बेला आत्मघाती बम हमलामा परि रावलपिण्डीमा हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।