काठमाडौं– मनाङ मस्याङ्दी क्लबको प्रशिक्षण सम्हाल्दा सुमन श्रेष्ठबारे कमैलाई थाहा थियो। 'ए' लाइसेन्स प्राप्त प्रशिक्षक सुमन सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवाती खेलमा गुमनाम जस्तै थिए। मनाङले लगातार जित निकालेपछि भने उनी सबैको नजरमा पर्न सफल भए। सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि उनका लागि लिग नौलो प्रतियोगिता थियो।
पहिलो पटक 'ए' डिभिजन क्लबको प्रशिक्षक बनेका सुमनले बिहीबार मनाङलाई २ खेल अघि च्याम्पियन बनाए। लिग जितेपछि उनले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका छन्। उनले मनाङका अर्का प्रशिक्षक फुजा तोपेलाई पनि उपाधि जिताउन भूमिका निर्वाह गरेको भन्दै श्रेय दिएका छन्।
मनाङले बिहीबार लिगको निर्णायक मानिएको संकटाविरुद्धको खेल ३–१ ले जित्दै उपाधि जितेको हो। आठौं पटक लिग जित्ने क्रममा मनाङ २ खेल अघि नै लिग च्याम्पियन बन्यो। शीर्ष स्थानको मनाङले लगातार ११ खेलमा जित निकाल्दै ३३ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २५ अंक मात्र छ। अब बाँकी रहेका दुवै खेल हारे पनि मनाङलाई फरक पर्ने छैन।
खेलपछि सुमनले लिगको अनुभव साटेका छन्। उनको अनुभव जस्ताको तस्तै :
आज हामीले लक्ष्य पूरा गर्न सफल भयौं।
सुरु सुरुमा हामीले जुन तरिकाले खेल्यौ, जस्तो नतिजा निकाल्नु पर्ने हो, सकेनौ। दुर्भाग्य भन्नु पर्छ सुजल श्रेष्ठ लगायतका खेलाडी घाइते भए। तर पनि हामीसँग भएका खेलाडीले शतप्रतिशत खेले। मुख्य खेलाडी घाइते नभएको भए राम्रो नतिजा निकाल्न सक्थ्यौ किन भन्ने लाग्छ। भाग्य नै भन्नु पर्छ हाम्रा समर्थक र हाम्रो मिहिनेतले विजेता बन्न सफल भयौं।

संकटाविरुद्धको खेल हाम्रो लागि राम्रो भयो। तर पहिला नै हामीले यो भन्दा राम्रो खेल्नु पर्थ्यो। हामीले अंक तालिकामा पुछारमा रहेका टिमसँग पनि १–० को मात्र नतिजा निकाल्न सक्यौं। त्यो बेलामा जुन तरिकाले रिक्स लिन पर्थ्यो त्यो सकेनौं। राम्रा खेलाडीको घाइते हुँदा हामीले फर्मेसन मिलाउन समय लाग्यो।
लिग भन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौं। हामी सिधैं सिक्किमको गभर्नस कप खेल्न गयौं। सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टिम वर्क राम्रो बन्दै गयो। हामीले सिक्किममा राम्रो गर्न सक्यौ भने यहाँ पनि राम्रो गर्न सक्छौ भन्ने लाग्यो। सबै खेलाडीलाई सिक्किमको सकारात्मक नजिताले प्रभाव पारेको थियो। खेलाडीहरुको आत्मविश्वास बढ्दा अहिले हामी यहाँसम्म आउन सक्यौं।
संकटाविरुद्धको निर्णायक खेलमा हामी सुरुवातमा दबाबमा पर्यौं। संकटाविरुद्ध खेललाई फाइलनको रुपमा लिएका थियौं। साथै लिगको सबै खेल जित्ने रेकर्डका लागि पनि यो खेल महत्वपूर्ण थियो। पहिलो लक्ष्य उपाधि र त्यसपछि रेकर्डको लागि खेल्ने भन्ने थियो। तर पनि हामी पहिलो हाफमा दबाबमा पर्यौं। उनीहरुले एकदम राम्रो खेले। सुरुवातमा फिनिसिङ हुन सकेन। पोलमा ठोक्कियो र राम्रो प्रहारमा पनि गोलकिपर बाधक बने। जसले गर्दा हामीलाई दबाब भयो। तर पनि हामीले धेरै अवसर पाएकाले गोल हुन्छ भन्ने पक्का थियो। सोचे अनुसारको पहिलो हाफ भएन तर दोस्रो हाफमा समयमै गोल भयो जसले गर्दा हामीले खेल जित्यौं।
यो पनि : संकटालाई हराउँदै मनाङ बन्यो आठौं पटक लिग च्याम्पियन
खेल खेल्दा सबै टिमसँग डर हुन्छ। जबसम्म अन्तिम सिठ्ठी बज्दैन डर भइरहन्छ। संकटा खेल र भाग्य दुवै भएको टिम हो। उसको खेल एकदमै राम्रो छ। सँगसँगै उनीहरु भाग्य पनि। आर्मीसँग ५ गोल खाएको संकटाले पुलिसविरुद्ध उत्कृष्ट खेल्यो। च्यासल जस्तो राम्रो टिमसँग जित निकाल्दा संकटा यहाँ आइपुगेको हो। ५०-५० टिमलाई दबाबमा राख्न सक्नु संकटाको राम्रो पक्ष हो। त्यसैले गर्दा संकटासँग डर थियो। तर पनि हामीले अग्रता लिएपछि जित्ने आत्मविश्वास थियो।
हाम्रो लक्ष्य राम्रो खेलेर लिग जित्ने थियो। तर ११औं चरणमा लिग जित्छौं जस्तो लागेको थिएन। च्याम्पियन हुन्छौं भन्ने थियो। २ खेल अघि नै लिग जित्छौं भन्ने हाम्रो योजना थिएन।
पहिलो पटक ए डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेको भन्दा बढी दबाब महसुस गरे। धेरै सिके। जति धेरै अनुभव भयो त्यति राम्रो हुन्छ। मेरो हकमा यो लागु भएको छ। पहिलो पटक अनुभव बटुले। पहिलो पटक नै च्याम्पियन बन्न सफल भए। यसअघि सिक्किममा खेल्दा पनि म पहिलो पटक प्रमुख प्रशिक्षक थिए। जहाँ मैले उपाधि जित्न सफल भए। मैले जति पनि खेलाए, सबै खेल जितेको छु। लिगमा ११ र सिक्किममा ३ गरी लगातार १४ खेलमा लगातार जित निस्केको छ।

खेलाडीसँग पनि मेरो मैत्रीपूर्ण सम्बन्ध छ। जस्तै सुजल श्रेष्ठलाई मैले यू–१४ मा प्रशिक्षण गराएको थिए। त्यसैले गर्दा मलाई काम गर्न सजिलो भयो। हामीले जुन मिहिनेत गर्यौ त्यसलाई खेलाडीले ग्रहण गरे। उनीहरुले हाम्रो रणनीतिअनुसार खेले।
टिममा रहेका अर्का प्रशिक्षक तोपे फुजा हुँदा मलाई धेरै सजिलो भयो। दुवै जनाको ५०–५० प्रतिशत योगदान छ। प्रशिक्षकको सबै श्रेय लिन चाहान्न। हामी दुवै जनाले सेयर गरेर काम गरेका छौं। हरेक कुरामा हामीले सहकार्य गर्यौं। खेलाडी परिवर्तनदेखि प्रशिक्षणको तालिका बनाउने कुरामा हामी मिलेर योजना बनाउथ्यौं। १–१ जना खेलाडीको सकारात्मक पक्ष र सुधार गर्नु पक्षबारे सेयर गरेर काम गरेका थियौं।
यो पनि : आठौं पटक लिग च्याम्पियन बनेको मनाङको खुसी १२ तस्बिरमा
खेलमा भाग्य पनि हुन्छ जस्तो लाग्छ। आजकै कुरा गर्नु हुन्छ भने हामीले हानेको प्रहार पोलमा लाग्दा मेरो मनमा चस्स परेको थियो। हानेको हानेको छौं तर सफल नहुँदा बराबरी पो हुन्छ भन्ने महसुस पनि भयो। तर पछि दबाबमा राखेपछि सफल त हुन्छौं भन्ने लाग्यो।
टिममा विदेशी खेलाडी हुनु फाइदाको कुरा हो। उनीहरुले उपाधि जिताउन धेरै योगदान दिएका छन्। टिमले नगरी त उपाधि जितिदैन। तर पनि उनीहरुको योगदान महत्वपूर्ण छ। मनाङमा भएका खेलाडी सबै राम्रा छन्। राष्ट्रिय खेलाडी नै ६ जना छन्। कतिपय खेलमा विदेशी खेलाडी नहुँदा पनि राम्रो गर्न सक्यौं।
२००४ मा एन्फाबाट प्रशिक्षकको रुपमा काम थालेको हुँ। सुरुवातमा मैले धनकुटा जिल्लाबाट प्रशिक्षकको काम थाले। त्यसपछि पिएलए टिममा मुख्य प्रशिक्षक भए। अनि आर्मीको क्षेत्रीय टिम पनि सम्हाले। आफू खेल्दा पनि ब्वाइज युनियन र जावलाखेल क्लबमा पनि प्रशिक्षण गराउथे। ए लाइसेन्स लिएपछि भने पहिलो पटक ए डिभिजन क्लबको प्रशिक्षक भएको हुँ।
अन्त्यमा मनाङका सबै समर्थकहरुलाई धन्यवाद दिन चाहान्छु। ७ सय किलोमिटरको यात्रा गरेर उहाँहरु आउनुहुन्छ। नेपालको ठाँउ ठाउँमा रहेका र विदेशमा रहेका फ्यानलाई १२ औं खेलाडीको रुपमा समर्थन गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु। मनाङ र नेपाली फुटबलाई माया गरिराख्नुस् भन्न चाहान्छु।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।