काठमाडौं– प्रधानन्यायधीशमा सिफारिस भएका चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरी परेका छन्।
९ थानमध्ये ८ थान उजुरी राणाको कार्यसम्पादन सम्बन्धमा प्रश्न उठाउँदै दर्ता भएका छन्।
राणाले उच्च अदालतदेखि सर्वोच्चसम्म आइपुग्दा सम्पादन गरेका कार्यहरु विवादास्पद भएकाले उनलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरेर मात्र नपुग्ने भएकाले महाअभियोग समेत लगाउनुपर्ने दावी उजुरीमा गरिएको छ।
राणामाथि परेका उजुरी खोलिएको र शुक्रबार उजुरीकर्तासँग समितिले छलफल गर्दै छ।
समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणाविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरेको छ।
प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो। संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेर हदका कारण अनिवार्य अवकाशमा पाउँदै छन्।
राणाविरुद्ध दर्ता भएको पहिलो उजुरी सार्वजनिक पोखरी जग्गा आफन्तको नाममा हुने फैसला सुनाएको रहेको छ।
वीरगञ्जको छपकैया पोखरी जबराले आफ्ना नाता पर्ने प्रमोद शाहको नाममा फैसला गरेको उजुरीमा उल्लेख छ।
जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सार्वजनिक कायम हुने भनिएको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराले २०७१ भदौ ८ गते शाहको नाममा दर्ता कायम गर्न आदेश दिएको थियो।
छपकैया पोखरी वीरगञ्जमा छठ पर्व मनाइने महत्वपूर्ण पोखरीमध्ये एक हो।
पोखरीको पश्चिम भागमा छठदेवीको मन्दिरसमेत रहेको छ।
२०२१ सालसम्म ऐलानी जग्गाका रूपमा रहेको उक्त पोखरीलाई २०४८ सालमा प्रमोद शाहले आफ्नो नाममा जग्गाधनी कायम गराएका थिए। तर शाहले व्यक्तिगत भनेर दर्ता गराएको जग्गालाई पुनः सार्वजनिक कायम गर्न २०४९ सालमा नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण भुर्तेलले मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा २०५२ सालमा जिल्ला अदालत पर्साले, २०५४ सालमा पुनरावेदन अदलत हेटौंडाले तथा २०५६ सालमा सर्वोच्च अदालतले ‘प्राविधिक विषयलाई आधार मानेर’ हकदाबी नपुगेको तथा हदम्याद गुजारेको भन्दै खारेजी गरिदिएको थियो।
२०६५ असार २६ गते छपकैया पोखरीलाई सार्वजनिक ठहर गरिदएको थियो भने उक्त ठहरलाई २०६७ सालमा तत्कालीन पुनरावेदन अदालतले पनि सदर गरिएको थियो।
सर्वोच्च अदालतमा जोशी र राणाको बेञ्चले पोखरी शाहको नाममा दर्ता कायम गरिदिएको थियो।
राणा विरुद्धको दोस्रो उजुरी पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो हुने भनी गरेको फैसलामा आधारित रहेको छ।
छाउनीको १५ रोपनी जग्गा र घर शाहको दाइजो हुने भनी राणासहितको इजलासले गरेको फैसला सर्वोच्चबाटै उल्टेकाले उनीमाथि छानविन गरी महाअभियोग लाग्नुपर्ने उजुरीमा दावी गरिएको छ ।
राणाको फैसलाले नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा जाने अवस्था आएको तर उनी पछिका न्यायाधीशले त्यसलाई जोगाएको दावी उजुरीमा गरिएको छ । तर राणा प्रधान न्यायाधीशको लागि सिफारिस भएलगत्तै उक्त जग्गा फिर्ता पाउनुपर्ने दावी गर्दै रिटसमेत दर्ता भएकाले संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गर्न नहुने उजुरीमा उल्लेख छ।
राणा विरुद्धको तेस्रो उजुरी विशेष अदालतमा रहँदा गरेको कार्यसम्पादनका बारेमा रहेको छ। राणाले विशेषमा रहँदा भ्रष्टाचारका मुद्दामा सफाइ दिएको उल्लेख छ।
राणासहितको इजालासले गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्ता, चक्रबन्धु अर्याललगायत करिब ३५ थान भ्रष्टाचारको मुद्दामा तथ्यमै प्रवेश नगरी सफाइ दिएकोले योग्य नभएको दावी उजुरीमा गरिएको छ। अख्तियारले दायर गरेको ३६ थानमध्ये १ मा मात्र दोषी ठहर हुने फैसला सुनाएको उजुरीमा उल्लेख छ।
राणा विरुद्धको तेस्रो उजुरी गैरकानुनी सौदावाजीबाट न्यायाधीशको रुपमा प्रवेश भएको दावी गरिएको छ। काठमाडौं महानगरपालिकामा कानुन अधिकृत रहेका राणाले २०५१ सालमा प्रधानन्यायाधीश रहेका सुरेन्द्रप्रसाद सिंहविरुद्ध उमेर सच्चाएको मुद्दा हाल्दै उच्च अदालतमा प्रवेश गरेको दावी गरिएको छ।
दुई राणाबीचमा मुद्दा फिर्ता लिने र न्यायाधीश नियुक्त गर्ने सम्झौताको भएको जिकिर उजुरीमा गरिएको छ। पछि राणाले नै सिंहको पक्षमा बहस गरेपछि उक्त निवेदन खारेज भएको थियो।
राणाविरुद्ध दायर भएको चौथो उजुरी जुवाकाण्डसम्बन्धी रहेको छ। तत्कालीन पुनरावेदन अदालतमा विराटनगरमा हुँदा जुवासम्बन्धी मुद्दामा आरोपितलाई सफाइ दिन गलत ब्याख्या गरेको उजुरीमा उल्लेख छ। म्यारेज खेलेको आरोपमा पक्राउ परेको व्यक्तिलाई बौद्धिक खेलको व्याख्या गर्दै सफाइ दिएको उजुरीमा उल्लेख छ।
राणाविरुद्ध दर्ता भएको पाँचौ उजुरीमा मेडिकल माफियासँग राणाको सम्बन्ध रहेको दावी गरिएको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले मेडिकल कलेजसम्बन्धी मुद्दामा फैसला गर्ने र त्यसको सम्पर्क माध्यम राणा भएको दावी उजुरीमा उल्लेख छ।
युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख धुव्र पौडेलले सार्वजनिक गरेको अडियोमा राणाको नाम रहेको उजुरीमा उल्लेख छ। अन्य उजुरीहरु दोहोरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।