सुर्खेत– सुर्खेतस्थित तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को जिल्ला पार्टी कार्यालय करिब ५० मिटरको दुरीमा छन्। निर्वाचनताकाको जस्तो बाक्लो भिड नभए पनि यी दुई कार्यालयमा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको हरेक दिनजसो सानोतिनो जमघट भने भइरहन्छ। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको जमघट हुनु कुनै अनौठो कुरा भएन तर तिनै जमघटको दृष्यभित्र लुकेको रोचक कुरा चाहिं के भने पूर्ववत पार्टी कार्यालयमा पूर्वपार्टीकै नेता तथा कार्यकर्ताहरु मात्र देखिन्छन्।
_x000D_
_x000D_
जिल्ला तथा स्थानीय तहसम्मको एकता प्रक्रियामा भएको ढिलाइले यतिबेला दुवै पक्षका नेता तथा कार्यकर्ताहरु अन्यौलपूर्ण अवस्थामा देखिन्छन्। पार्टी एकता प्रक्रियाको सूत्रपात भएको एक वर्ष र एकता घोषणाको पाँच महिना पुग्नैलाग्दा पनि जिल्ला तथा स्थानीय तहमा भने नेता तथा कार्यकर्ताहरुबीच अझै पनि मतभेद देखिन्छ। पार्टीका नेताहरुकै भाषणलाई आधार मान्ने हो भने पनि यसबीचमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्लास्थित नेता तथा कार्यकर्ताहरु आ–आफ्नै पूर्व पार्टी कार्यालयमा जमघट हुनु र एकअर्कासँग घुलमिल हुन नसक्नुलाई सायद यही नै भन्न सकिन्छ कि ‘मनसँग मन मिल्न अझै बाँकी छ’।
_x000D_
_x000D_
कमिटीविहिन पाँच महिना
_x000D_
_x000D_
दुई पार्टी एकताको घोषणासँगै पूर्ववत कमिटी विघटन गरिएको थियो। त्यसयता संयुक्त कमिटीहरु बन्न सकिरहेका छैनन्। केन्द्रमा दुई पार्टीका अध्यक्षहरु संयुक्त अध्यक्ष हुने गरी स्थायी समिति, केन्द्रीय समिति र सचिवालयको टुंगो लगाइएको छ भने केही समयअघि मात्रै प्रदेश कमिटीका पदाधिकारीहरु चयन पनि गरिएको छ। तर त्यसबाहेक जिल्ला र स्थानीय तहमा भने नेकपा नेतृत्वविहिन छ।
_x000D_
_x000D_
कमिटी विहिनताको अवस्थाले जिल्लास्थित नेता तथा कार्यकर्तामा पनि निराशा छाएको छ। विगतमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेकाहरु नेताहरु यतिबेला जिम्मेवारीविहिन छन्। संगठनका कुनै पनि काम हुन सकेको छैन। पार्टी कमिटिविहिन हुँदा सांगठनिक गतिविधिहरु नै सञ्चालन हुन नसकेको बताउँछन् नेकपाका नेता एवम् पूर्व एमालेका जिल्ला सचिवसमेत रहेका मोहन बडुवाल।
_x000D_
_x000D_
उनले जतिसक्दो छिटो स्थानीय तहसम्म एकता प्रक्रियालाई टुंग्याउनुपर्ने बताए। ‘जति ढिला हुन्छ, त्यसले पार्टीको संगठनलाई नै कमजोर बनाउँछ र कार्यकर्तामा झन निराशा बढ्छ’, बडुवालले भने, ‘त्यसकारण पनि जतिसक्दो छिटो यसलाई टुंग्याउन जरुरी छ।’
_x000D_
_x000D_
भावनात्मक एकता बाँकी
_x000D_
_x000D_
नेता बडुवालले दुई पार्टी एक घोषणा भएको लामो समय बितिसक्दा पनि तल्लो तहमा अझै भावनात्मक एकता हुन बाँकी नै रहेको जस्तो महसुस भइरहेको बताए। ‘दुवै पक्षका नेता तथा कार्यकर्ताहरु आ–आफ्नै ढंगबाट अघि बढिरहेका छन्’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन मजबुत बनाउने गरी कुनै काम हुन सकिरहेको छैन।’
_x000D_
_x000D_
कतिपय स्थानमा दुवैतर्फका नेता तथा कार्यकर्ताहरुबीच समन्वय भइरहेको भए पनि अधिकांश स्थानमा आ–आफ्नै ढंगबाट काम गरिरहेको पाइन्छ। स्थानीय स्तरका सामुदायिक वन उपभोक्ता समितिदेखि सहकारी र विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने विषयमा पनि दुई पक्षका कार्यकर्ताबीच टकराव हुने गरेको छ।
_x000D_
_x000D_
नेकपा नेता एवम् माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष कृष्ण जिसी(जितेन्द्र) कमिटी एउटै नहुँदा यसअघिकै पार्टीगत मनोविज्ञान मेटिन बाँकी देखिएको बताउँछन्। उनले समयमै एकता प्रक्रियालाई पूर्णरुपमा टुंग्याएको भए यस्तो समस्या नआउने भन्दै जतिसक्दो छिटो स्थानीय तहसम्मका एकताका प्राविधिक पक्षहरुमा देखिएका कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
यी दुई पार्टीबीच चुनावी गठबन्धन गर्दै पार्टी एकता प्रक्रियामा जाने ६ बुँदे सहमति भएको एक वर्ष पूरा भएको छ। गत असोज १७ गते डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित एमाले र माओवादीबीच पार्टी एकता तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो। भागबन्डामा कुरा नमिलेपछि नयाँशक्ति पार्टी सहमति गरेको १० दिनमै गठबन्धनबाट बाहिरिएको थियो।
_x000D_
_x000D_
तर, एमाले र माओवादीले भने सोही सहमतिलाई कार्यान्वयन गर्दै चुनावमा भाग लिए। संसदीय निर्वाचनमा गठबन्धनलाई दुई तिहाइ मत पनि प्राप्त भयो। एकतालाई लिएर पटक–पटकको विवाद र रस्साकस्सीपछि अन्ततः गत जेठ ३ गते नेकपा घोषणा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।