काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यक्रमलाई नयाँ समयतालिकाअनुसार अघि बढाउने भएको छ। केन्द्रीय निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुनेछ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि असोज १९ र २० गते बन्द सत्र तथा महाधिवेशनका अन्य कार्यक्रम सञ्चालन हुनेछन्।
नयाँ तालिकामा नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तोकिएको छ। निर्वाचनसँग सम्बन्धित विस्तृत कार्यक्रम भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि पनि समितिले समयसीमा तोकेको छ। क्षेत्रीय अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरूको नामावली असोज १५ गतेसम्म पठाइसक्न निर्वाचन समितिले सम्बन्धित निकायलाई भनेको छ।
त्यस्तै, महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते गरिनेछ।
यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। पछिल्लो संशोधनसँगै उद्घाटनदेखि निर्वाचनसम्मका कार्यक्रम नयाँ मितिमा सारिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।