काठमाडौं- सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका व्यक्ति विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
जिल्ला प्रहरी परिसर टेकुले सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो। सोही फाइलको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यक्ष बराल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।
११ जनालाई प्रतिवादी बनाइएको मा २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भइ सहकारीको कोषाध्यक्ष पदमा रहेका ३८ वर्षीय अर्जुन थापा छन्।
त्यसैगरी सहकारीको उपाध्यक्ष रहेका तथा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, अध्यक्ष अम्बरबहादुर थापा, सदस्यहरु हरिष चन्द्र माझी, माया कुमारी चौधरी, इन्द्रबहादुर थापा, सिन्धुलीको तीनपाटन–४ का ३८ वर्षीय जयकुमार बाराकोटी, तीनपाटन–६ कि ३५ वर्षीया सूर्य कुमारी पुलामी, संखुवासभाको धर्मदेवी नगरपालिका–५ का ४२ वर्षीय छबिलाल रानामगर, तीनपाटन–६ का ३० वर्षीय ओमकुमार थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको आरोप लागेको छ। पक्राउ परेका कुमार खड्काले भने आफू निर्दोष रहेको र सहकारी घोटाला गरिएको थाहा पाएपछि आफैंले सहकारी विभागमा समेत उजुरी हालेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन्।
‘सहकारीका तत्कालीन अध्यक्ष अम्बरबहादुर थापाले सहकारीको सिद्धान्तअनुसार सञ्चालक समितिको बैठक समेत नबोलाई आफूखुसी निर्णय गरी अरु सदस्यहरुलाई दस्तखत मात्र गराउने गरेको थियो। अध्यक्ष थापासहितका व्यक्ति मिलेर सहकारीका रकम हिनामिना गरी एकलौटी संस्था चलाएको थाहा पाएपछि मैले गोप्य रुपमा सहकारी विभागमा बेनामी उजुरी समेत हालेको थिएँ। तर सहकारी विभागले समेत खासै चासो नदिँदा अहिले यो अवस्था आएको हो,’ बयानमा खड्काले भनेका छन्।
सहकारी ठगीमा मुछिएका फिक्कल गाउँपालिकाका उपाध्क्ष बराल यसअघि वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा फिक्कल गाउँपालिका–५ सोल्पाठानाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी लामो समय नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मन्चको सचिव समेत बनेका थिए।
उनीसहित फरार प्रतिवादीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) को ठगी गर्न नहुने अन्तगर्तको कसुरमा मुद्दा दर्ता गरिएको छ। जसमा ठगी रकम बराबरको बिगो कायम गर्दै ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ।
त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शूलक जम्मा गर्न माग समेत गरिएको छ।
सहकारी ठगीबारे बुझ्न उपाध्यक्ष बरालसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।