काठमाडौं- बाल यौन दुराचारको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। रेग्मीको इजलासमा बम्जनमाथि बयान सुरु गरिएको छ।
अहिले जुन आरोपमा बम्जनलाई अदालतमा उपस्थित गराइएको छ सोही आरोपमा यसअघि नै दुई जना प्रतिवादी धरौटीमा रिहा भइसकेका छन्। बम्जनसहित बाल यौन दुराचारको आरोपमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएका तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन, सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका जेबी गुरु भनिने जितबहादुर तामाङ सहप्रतिवादी बनाइएको थियो।
तर, यी दुवै प्रतिवादी भने यसअघि नै एक-एक लाख रुपैयाँ धरौटीमा छुटिसकेका व्यक्ति हुन्। सहप्रतिवादी तोप्चेङ महात्मा गुरु २०७९ भदौ १० मा १ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। अर्का सहप्रतिवादी जेबी गुरु गत मंसिर ६ गते १ लाख धरौटीमा रिहा भए।
अहिले सोही प्रकरणमा मुख्य प्रतिवादी भनिएका बम्जनलाई अदालतमा उपस्थित गराइएको छ। योसँगै बम्जनमाथि अन्य जिल्लाहरुमा मान्छे बेपत्ता पारेको आरोप पनि छ।
अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बुधबार मध्यराति उनलाई सर्लाही पुर्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।