काठमाडौं– बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा परेको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासमा बम्जनसहित ३ जनाको मुद्दाको सुनुवाइ हुने भएको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बुधबार मध्य राति उनलाई सर्लाही पुर्याइएको थियो।
सर्लाही पुर्याइएका उनलाई आज (बिहीबार) अदालतमा पेस गरिएको हो। बाल यौन दुराचारको आरोप लागेका बम्जनको अहिले न्यायाधीश रेग्मीको इजलासमा बयान भइरहेको छ।
बाल यौन दुराचारमा बम्जनसहित ३ जनालाई प्रतिवादी बनाइएको छ। जसमा बम्जनसँगै मकवानपुरको थाहा नगरपालिका–७ घर भएका तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन, सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका जेबी गुरु भनिने जितबहादुर तामाङ प्रतिवादी छन्। यसअघि नै तोप्चेङ महात्मा गुरु र जेबी गुरु भने एक–एक लाख धराैटीमा रिहा भइसकेका छन् ।
बाल यौन दुराचारमा उनीहरुलाई १४ वर्षसम्म कैदको सजाय माग गर्दै जिल्ला अदालतमा यसअघि नै मुद्दा दायर भएको थियो। सोही मुद्दाका लागि अहिले बम्जनलाई अदालतमा उपस्थित गराएइको हो।
बम्जनको सम्पति रोक्का
बम्जनको मुद्दा यसअघि नै १४ पटक पेसी चढिसकेको छ। जसक्रममा छैटौं पेशीको क्रममा एक वर्षअघि २०७९ माघ २४ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बम्जनसहित तीनै जना प्रतिवादीको सम्पत्ति रोक्का गर्ने आदेश गरेको थियो।
अदालतको उक्त आदेशपछि यी तीनै जनाको सम्पत्ति किनबेच गर्न नपाउने गरी रोक्का गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।