महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन्।
वडाध्यक्ष खड्का मोटरसाइकलसहित बिहीबार बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार वडाध्यक्ष खड्का भीमदत्त–६ ऐठपुरस्थित सडकमा मृत फेला परेका हुन्।
खड्का मृत फेला परेको स्थानमा उनी चढेको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एसपी थापाले जानकारी दिएका छन्। वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
एसपी थापाका अनुसार खड्का मृत फेला परेको सडकमा पाइपहरु छन्। सोही पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हुनसक्ने उनले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। ‘अहिले हेर्दा मोटरसाइकल दुर्घटना भएर निधन भएको देखिन्छ। विस्तृत कुरा अनुसन्धान गर्दै जाँदा खुल्छ होला,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी थापाले भने।
वडाध्यक्ष थापा बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा खड्का नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।