काठमाडौं– अदालतमा मुद्दा परेपछि चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट प्रक्रिया थप लम्बिने देखिएको छ। निर्देशक छनोट प्रक्रिया विरुद्ध एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि यो प्रक्रियाले लम्बिएको हो।
निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिलाई उच्च अदालतले २१ मंसिरमै काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि यो मुद्धाको विषयमा वादी तथा प्रतिवादीका लागि पहिलो पटक २३ पुसमा तारेख तोकिएको थियो भने अब ६ फागुनमा दोस्रो तारेख तोकिएको छ।
४ निर्देशकका लागि २० जनाको आवेदन परेको थियो। समितिले १२ जनाको नाम प्रारम्भिक छनोटमा राखेको थियो। त्यसकै विरोधमा उच्च अदालतमा रिट परेको हो।
समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने थियो।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।