काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज (बुधबार) बिहानसम्म कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार तराई जिल्लामा लागेको हुस्सु दिउँसो बिस्तारै कम हुनेछ। राति पुन: हुस्सु तथा कुहिरो लाग्नेछ। आगामी २४ घण्टामा देशभर नै तापक्रम घट्ने हुनाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।